२०८१ माघ ९ गते बुधवार

भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

कञ्चनपुर, मङ्सिर १८।  भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् ।

“चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भने, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उनले बताए ।

नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर रोकेकाले कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । “सडक स्तरोन्नतिको काम अगाडि बढाउनका लागि भारतीय पक्षसँग समन्वयको प्रयास भइरहेको छ”, उनले भने ।

प्रजिअ तारानाथ अधिकारीले नेपाली भूमिमा सडक निर्माण भइरहेको भए भारतीय पक्षले रोक्न नपाउने बताए । उनले भने, “भारतीय समकक्षीसँग समन्वय गरेर समस्याको निकास निकालिने छ ।” सीमास्तम्भ अद्यावधिक नहुँदा सीमा विवाद आउने गरेकाले सम्बद्ध पक्ष बसेर निकास निकालिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *