
दाङ, भदौ २२ ।
रुकुम पूर्वमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – ६ मयाङका ४९ बर्षीय बुद्विराज सेन र ७० बर्षीय तिर्थराज शाही आइतबार दिउँसो साङखोलामा बगेर बेपत्ता भएका छन् ।
खरिढुङगादेखि घर तर्फ फर्कने क्रममा साङखोलामा काठको पुलमा खुट्टा चिफ्लिएर उनीहरु खोलामा खसेपछि बगेर बेपत्ता बनेका हुन ।
आइतबार दिउँसो पौने ३ बजेतिर उनीहरु दुई जना खोलामा खबेर बेपत्ता भएको सूचना प्रहरीले ३ बजेतिर प्राप्त गरेको थियो ।
बेपत्ता दुई जनाको खोजीका लागि आइतबार दिनभर जिल्ला प्रहरी प्रमुख डिएसपी पाण्डेको नेतृत्वमा ३३ जना नेपाल प्रहरी, नेपाली सेना चण्डीदल गण सुरक्षा गुल्मबाट सहायक सेनानी प्रदिप भण्डारीको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा बाट सशस्त्र प्रहरी नायव उपरीक्षक नबिन बुढाथोकीको कमाण्डमा ११ जना गरी कुल ५१ जना सुरक्षाकर्मी खटिएका थिए ।
सुरक्षाकर्मी र स्थानीयले दिनभर खोजी गर्दा पनि बेपत्ता सेन र शाही फेला परेका थिएनन् । सोमबार पनि बेपत्ता दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
