
दाङ, भदौ १० ।
रुकुम पूर्वमा ६७ बर्षीया बृद्धाका हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको भूमे गाउँपालिका – १ गरबाङकी ६७ बर्षीया कृष्णा घर्तीको हत्या गरेको आरोपमा भूमे – १ लुगुमका ३१ बर्षीय अक्कल भनिने अर्जुन घर्ती मगर पक्राउ परेका हुन ।
कृष्णाको कानमा लगाएका कानबाली हत्या पछि अर्जुनले चोरी गरि लगेका थिए । पक्राउ परेका अर्जुनको साथबाट चोरी गरि लगिएका झन्डै एक तोला बराबरको सुनको मुन्द्रा र केही नगदपनि बरामद भएको छ ।
कास्की प्रहरीको सहयोगमा हत्या अभियुक्त अर्जुनलाई पोखरा महानगरपालिका – ८ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी भदौ १९ गते बिहान सवा १० बजेतिर पक्राउ गरिएको रुकुम पूर्वका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लालबहादुर बिकले बताए ।
प्रहरीका अनुसार हत्या गरिएकी कृष्णा घरमा एक्लै बस्दै आएकी थिइन । उनले कानमा लगाएका सुनका गहना लुट्ने उदेश्यले अर्जुनले कृष्णाको घर भित्रै पटुकाले घाँटी कसेर हत्या पछि सुन तथा घरमा भएको नगद चोरी गरि भागेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
प्रहरीका अनुसार कृष्णाको हत्या भदौ १५ गते बेलुकी ७ बजेतिर भएको अनुसन्धान बाट खुलेको छ । यद्यपी घरका सदस्यले भदौ १८ गते मात्रै हत्या भएको तथ्य फेला पारेका थिए ।
घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।
