जुम्ला ,असोज १७ । जुम्लामा परम्परागतरूपमा गरिँदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
हरेक वर्ष दशैँको फूलपातीको दिनमा गरिने घोडा दौड प्रतियोगिता यस पटक पनि सम्पन्न भएको हो ।
राजा सिम मैदानमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा खुलातर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम भए। त्यही गाउँका शंकर रोकाया द्वितीय हुँदा विपन्न बोहरा तृतीय भए ।
यस्तै पालित अर्थात् स्वास्थ्यतर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम भए । गुठीचौर ५ का बिर्खबहादुर भण्डारी द्वितीय हुँदा वडा नम्बर २ का मुनसुर बोहरा तृतीय भए ।
यस्तै कदमतर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम भए । गुठीचौर १ का हरिप्रसाद बस्नेत द्वितीय हुँदा गुठीचौर २ का कालीप्रसाद बोहरा तृतीय भए ।
तीन वटै विधाका प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।
घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।
