काठमाडौं, असार ६ । नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो।
बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्यो।
नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो।
यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।
नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।
खेल निर्धारित समय अनुसार बिहान ८ – १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७(७ ओभरमा छोट्याएको थियो।
समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।
यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। यस्तै दोस्रो स्थानमा रहेको हङकङले २ खेलबाट ४ अंक जोडेको छ।
कुवेत र बहराइनले समान १(१ अंक जोड्दा भुटान अंकविहिन पुछारमा छ। यो सँगै नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो।
समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्।