२०८३ जेष्ठ १८ गते सोमवार

दैलेखमा बोलेरो दुर्घटना – ३ जनाको मृत्यु, ५ जना घाइते


दाङ, जेठ १८ ।
दैलेखमा भएको जीप दुर्घटनामा परि चालकसहित तीन जनाको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परि चालक कालिकोट शुभकालिका गाउँपालिका – ५ का ३६ बर्षीय कलबहादुर रोकाय, शुभकालिका – ६ की ६० बर्षीया पुल्तिसरा बिक र शुभकालिका –४ का ३९ बर्षीय मित्र सुनारको मृत्यु भएको छ ।

दुर्घटनाका थप पाँच घाइते मध्य शुभकालिका – ४ का अन्दाजी ४५ बर्षीय नैन सुनार र शुभकालिका – ६ का २७ बर्षीय सुमत बिकलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतका लागि रिफर गरिएको छ । दुर्घटनाका घाइते मध्य शुभकालिका – ४ का ३८ बर्षीय चक्र सुनार, शुभकालिका – ६ का २० बर्षीय भरत बिक र शुभकालिका – ५ का २६ बर्षीय कलम सुनारको अवस्थापनि गम्भीर छ । उनीहरुको दैलेख जिल्ला अस्पतालमा उपचार जारी रहेको दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार बिकले बताए ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दैलेखको भैरवी गाउँपालिका–७ काली गौंडास्थित भित्री सडक खण्डको भीर बाट झन्डै ४ सय मिटर तल खसेको हो ।
सोमबार दिउँसो करिब १ बजेतिर जीप दुर्घटना भएको थियो । जीपमा सात पुरुष र एक महिला गरि आठ जना सवार थिए ।
घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भीक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल तर्फ पठाएएको हो । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *