
शरद रेग्मी,
दाङ ३० । राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सोमवार दाङका व्यवसायी संग छललफल गरेको छ । छलफल माल सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागेको वेभमा आधारित सिस्टमका बारेमा केन्द्रित थियो । तुलसीपुर उद्योग वाणिज्य सघंले आयोजना गरेको कार्यक्रममा आगामी साउन १ गतेदेखि लागु गर्न लागिएको वेभमा आधारित सिस्टमका बारेमा
छलफल गरिएको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुखशेखरबाबु कार्कीले राजश्व अनुसन्धान विभागले राजश्व चुहावट रोक्नका लागि ‘भेकिल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ’ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिएका थिए ।
विभागले राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ को उपदफा ‘ग’ अनुसार उक्त प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख कार्कीले जानकारी दिए । उक्त प्रणाली कार्यान्वयनमा आएसंगै राजश्व चुहावट एवं राजश्व छलि नियन्त्रण गर्न सहज हुने उनको विश्वास थियो ।
उनले सिस्टम लागु गर्न निजी क्षेत्रको महत्वपुर्ण रहने भन्दै आफुहरु निजी क्षेत्रको सहयोग बिना सफल हुन नसक्ने स्पष्ट पारे । कार्कीले विद्युतिय रूपमा नै राजस्व छलिका घटना अन्त्य गर्न नयाँ प्रविधिमा जान लागेको बताए । अनलाईन प्रणालीको सहजै प्रयोगका लागि विभागले वेभसाइटमा निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष नारायण भुसालले आफुहरु राज्यलाई सहयोग गर्न तयार रहेको तर हचुवाको भरमा छलफल बिना ल्याउन लागेको ऐन र कानुनहरु कार्यान्वयन गर्दा समस्या हुने गरेको बताए ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष बिमल रिजालले अनलाइन सिस्टम लागु गर्नका लागि सामान्य छलफलले नहुने धारणा व्यक्त गरे । व्यवसायीले विगतदेखि नै धेरै चुनौती समस्या खेप्दै आएको हुँदा राज्यले देशमा लगानी गर्ने बातावरण श्रृजना गनुपर्ने धारणा राखे ।
त्यस्तै गढवा उद्योग वाणिज्य सघंका अध्यक्ष रिवलाल आचार्यले सरकारले जवरजस्ती ल्याएको कानुनले व्यवसाय धारासायी हुने चिन्ता जाहेर गरे । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष उत्तमकुमार श्रेष्ठ, व्यवसायी नरेशराज भण्डारी,डिल्लीबहादुर वली, नेत्रमणि भण्डारी,गोर्कण गिरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय कोहलपुरका अनुसन्धान अधिकृत कुल प्रसाद भट्टराईले विषय प्रबेश गराएका थिए ।
साउन १ गतेदेखि लागु हुने अनलाइन सिस्टमका बारेमा उनले प्रकाश पारेका थिए । तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका हुन ।