
दाङ,असार २८ । विगत तीन दिनदेखिको लगातारको बर्षापछि स्थानीय खोलाहरुमा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डको बीचमा पर्ने बबई, सिस्ने,पत्रे लगाए तीनवटा खोलामा आएको बाढीले घोराही–लमही सडक खण्डको यातायात सेवा ठप्प भएको छ ।
त्यस्तै तुलसीपुर– घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीले यातायातका साधान विहानभर संचालनमा आउन नकसेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । विहान दश बजेदेखि ठूला सवारी साधान मात्रै संचालनमा आएको एसपी पाण्डेले बताए । त्यस्तै पत्रे र ग्वारखोलामा समेत बाढी आएको एसपी पाण्डेले जानकारी दिए । प्रहरीले नागरिकको सुरक्षाको लागि हरेक खोलाहरुमा प्रहरी खटाउँदै आएको छ । प्रहरीले खोलाको अवस्था हेरेर मात्रै सवारी चलाउन दिने गरेको छ । एसपी पाण्डेले उद्धार सामाग्री सहित हरेक खोलाहरुमा प्रहरी र ट्राफिक प्रहरी खटाइएको जानकारी दिए । मोटरसाईकल लगाएतका साना सवारी चालकलाई संझाई बुझाइ गरेर प्रहरीले फर्काउने गरेको छ ।
ग्वारखोलामा एक्कासी आएको बाढीले शुक्रवार बेलुका धुन भनि लगेको एउटा बसपनि बगाएको थियो ।
तुलसीपुर हुँदै लमहीसम्म झन्डै एक दर्जनजति खहरे खोलाहरु पर्छन । त्यसमध्य आधा दर्जन जति खोलाहरुमा पूल निर्माण भइरहेको छ । पूल निर्माणाधिन खोलाहरुमा निर्माण गरिएको डाइभर्सन समेत खोलाले बगाएपछि तथा विगारेपछि यातायातका साधान संचालन हुन नसकेका हुन ।

विभिन्न खोलाहरुमा आएको बाढीका कारण ट्रक, बस,ट्याक्टर लगाएका साधन फाट्टफुट्ट संचालनमा आएको भएपनि साना सवारी साधन भने संचालनमा आउन नसकेका छैनन् । खोलामुनीका पूल (कजवे) विस्थापित गर्न पुल निर्माण कार्य चल्दै आएको भएपनि अधिकाँस निर्माण कम्पनीले सम्झौताको मिति गुजारी सकेका छन् । तरपनि पूल निर्माणको कार्य भने अधुरै छ । जसले गर्दा बर्षातको समयमा खोलाहरु धराप जस्तै सावित भएका छन् ।
समयमै पुल निर्माणको काम नसक्दा विगत ४÷५ बर्षयता हरेक बर्षातमा तुलसीपुर–अमेलिया सडक खण्डको यात्रा सर्वसाधारणका लागि जोखिम युक्त बन्ने गरेको छ । स्थानीय खोलाहरुमा आउने बाढीले जिल्ला आन्तरिक रुपमा नाकाबन्दीमा परेजस्तै हुने गर्छ ।