२०८३ असार १४ गते आइतवार

बाढी र पहिरो वाट ९ जनाको मृत्यु ६ जना बेपत्ता


काठमान्डौं, असार २७ । दुईदिन देखिको लगातार वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरो गएको छ । त्यसवाट ९ जना जतिको मृत्यु भएको छ। अझैं केही बेपत्ता छन् । अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित टहरोमा बसिरहेका उनीहरुको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा बेपत्ता बनेका ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादवको शव शुक्रवार दिउँसो निकालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

त्यसैगरी गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर खोटाङमा तीन जना बेपत्ता बनेका छन् । त्यस्तै बाढीले बगाए पछि मोरङ, सुनसरी र पाँचथरमा एक÷एक जना बेपत्ता भएका छन्।

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो भने ३ जना घाइते भएका छन्। शुक्रवार बिहान ११ बजे पहिरोले घर भत्किएपछि ५० वर्षीय गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको छ । उक्त पहिरोका कारण ३ जना घाइते समेत भएका छन् ।

रामेछापमा पहिरोका कारण ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ। शक्रबार बिहान गोठमा भैँसी दुदै गरेकी उनलाई पहिरोले पुरेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नुवाखोलाले बगाउँदा शुक्रवार विहान विद्यालय जान थालेका ९ वर्षे दिवन राईलाई खोलाले बगाएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बिहीबार मोरङको विराटनगरमा एक युवकलाई पनि खोलाले बगाएको छ। साँझ ५ बजेतिर सानेपाखरी रङ्गेनी जानेबाटोमा पर्ने खोलाले बगाएको थियो । उनको खोजी कार्य जारी रहेको छ । ललितपुर र सिन्धुलीमा पहिरोका कारण एक–एक जनाको मृत्यु भएको छ। बाढीका कारण सुनसरीमा एक जना बेपत्ता भएका छन् भने पर्सामा थप एक जना डुबेर मृत्यु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *