
दाङ,असार २७ । दाङमा प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित तीन व्यक्ति पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी १७ बर्षीय अपनस कुमाकी (सुनार), सोही ठाउँकै अमर थापा र घोराही १ निवासी सुमन रावत आगु औषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार अपनस कुमाकीले घरमै ब्राउन सुगरको कारोवार गरिहरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ३५ पुरिया ब्राउन सुगर (धुलो पदार्थ मात्र तौल गर्दा २ ग्राम ५०० मिलिग्राम) र निट्राजिपाम ट्यावलेट ५६ पिस बरामद गरिएको प्रहरी प्रबक्ता शाहले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले शुक्रवार विहान साढे ६ बजेतिर पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिहरुका विरुद्ध लागु औषध नियन्त्रण ऐन विरुद्ध मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।