२०८३ मङ्सिर ८ गते सोमवार

खेतमा किसान कम, तर जनप्रतिनिधि र कर्मचारी मात्रै बढी


राजेश खत्री,
दाङ,असार १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का किसान सौगतविर चौधरी रासायनिक मलका लागि बजार धाउन थालेको दुई हप्ता बढी भयो । तर उनले खोजेको डिएसपी मल अझैं पाउन सकेका छैनन् । तुलसीपुर ७ वनहरीका रमेश वलीपनि त्यसैगरी मलको खोजीमा भौंतारीदै आएका छन् । तुलसीपुरस्थित मल गोदाममा दिनहुँ जसो मलको खोजीमा धाउने मध्यका अर्का एकजना किसान तुलसीपुर ११ का रमेश घर्तीपनि छन् । तर गोदामका कर्मचारीले संधै मल नभएको जवाफ दिने गर्छन । मल कहिले आउँछ त्यसको एकिन जवाफ पनि उनीहरुले दिदैनन् । न मल छ न प्रकृतिले जल दिएको छ ।

तर जस्तो अवस्था भएपनि असार १५ लाई यो वर्षपनि राष्ट्रिय धान दिवसका रुपमा मनाइएको छ । खेतमा जनप्रतिनिधि र कर्मचारी मात्रै पुगेर नाटक गरे जस्तै गरि दिवस मनाएका छन् । किसानको उपस्थिति विना कर्मकाण्डी रुपमा मनाइएको धान दिवशले किसानमा कुनै उत्साहित पार्न सकेको देखिएन । त्यसैले खुसी नेपाली, समृद्ध नेपाल, कृषिलाइ आधुनिकरण र यान्त्रिकरण गरि निर्यातमुखी कृषि’को नारा आँफैमा मजाग जस्तै बनेको छ ।

तुलसीपुर १० का अशोक चौधरीले किसान मल नपाएर हैरान भएपनि समस्या समाधान गर्न राज्यले कुनै पहल नगर्नुले किसानमा निराशा छाएको बताए ।असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउनु राम्रो भएपनि खेतीको लागि अति आवश्यक रासायनिक मलको जोहो गर्न कुनै चासो नदिएर कर्मकाण्डी रुपमा धान दिवस मनाउनुको कुनै अर्थ नरहेको उनले बताए ।

अनुदान विनाको युरिया मल बजारमा पाइएपनि डिएपी मल भने कतै पाइदैन । मलको लागि कृषि सामाग्रीमा पुगेको किसानलाई कर्मचारीले एक बोरापनि मल छैन् भन्ने जवाफ दिने गरेका छन् ।अनुदानको मल विक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महिनादेखि नआएको जानकारी दिएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराएपनि पछिल्लो समयमा एक वोरापनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तिर्थ न्यौपानेले बताए ।

उनले मल खरिदका लागि कुनैपनि प्रक्रिया नै अगाडि नबढाएको जानकारी दिए । सरकारले अझैपनि मल आयातको लागि टेण्डर आह्वान नगरको हुँदा समस्या भएको उनले बताए ।

अघिल्ला बर्षहरुमा जिल्ला भर सहकारी संस्थामार्फत किसानलाई मल उपलव्ध गराउदै आइएको भएपनि यो वर्षभने सहकारीले किसानलाई डिएपी मल उपलब्ध गराउन सकेका छैनन् । त्यही भएर मलको लागि भने किसान दिनँहु बजारमा भैतारीदै आएका छन् ।

वरिपरि बाँझै, बिचमा रोपाइँ
धान दिवसको उत्सव मनाउने सिलशिलामा तुलसीपुर उपमहानगरपालिकाले आइतवार वडा नम्वर १५ कन्ज्वारमा कार्यक्रम गर्यो । धान दिवस मनाउनैका लागि स्थानीय खोलावाट मोटर लगाएर केही गराहरुमा सिंचाई गरेर धान दिवस मनाइएको छ ।

वरिपरि भने सबैतिर बाँझो खेत मात्रै थियो । तुलसीपुरका मेयर, उपमेयरको उपस्थितिमा बीचमा कर्मकान्डीरुपमा धान दिवस मनाइपनि त्यसले स्थानीय किसानलाई भने उत्साहित पार्न सकेन । स्थानीय किसान एकराज रैदासले धान दिवस मनाउन दशवटा गरामा धान रोपेर किसान खुसी हुन नसक्ने बताए । बरु सरकारले खेतीको लागि अतिआवश्यक मलको सहज आपुर्ती र सिंचाइएको प्रवन्ध गरिदिए त्यसले किसानलाई उत्साहित बनाउने बताए ।

स्थानीय किसान खिम चलाउने रासायनिक मलपनि नपाएको र आकासवाट पानीपनि नपरेको हुँदा खेतमा व्याड सुक्न थालेको बताइन । ‘यहाँ सिंचाईको राम्रो व्यवस्था छैन, ईनारवाट पानी तानेर राखेको व्याडपनि सुक्ने अवस्थामा छ,’अर्का एक किसानले भने ।

स्थानीय सरकार किसानका समस्या हल गर्न भन्दापनि ठूला सपना बाँड्नमै मख्ख छ । मेयर घनश्याम पाण्डेले भने छिमेकी जिल्ला रोल्पाको माडी खोलाको पानी तुलसीपुर ल्याएर सिंचाईको प्रवन्ध गरिने आश्वान बाँड्न छोडेनन् । उनले स्थानीय किसानलाई रोल्पाबाट माडीको पानी ल्याएर यहाँ सिंचाई गर्ने गर्ने योजना बनाएको बताए ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *