तुलसीपुर, कात्तिक ९ । राप्ती राजमार्ग अन्तरगतको तुलसीपुर (क) लाइनमा सडकको मापदण्ड १५ मिटर कायम हुनुपर्ने मग गर्दै केही स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का समक्ष राप्ती राजमार्ग सरोकार समितिका संयोजक नवराज लामिछाने नेतृत्वको टोलीले त्यस्तो माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
बाहिनी चोकदेखि दक्षिण टरिगाउँ एयरपोर्टसम्म साबिक निर्णय अनुसार केन्द्रदेखि दाँया बाँया १५–१५ मिटर कायम गर्न माग गर्दै मेयरलाई ज्ञापन पत्र बुझाएका हुन ।
नगरपालिका हुनु भन्दा पहिले नै बाहिनी चोक भन्दा उत्तर (क) लाइनलाई तत्कालिन नगर बिकास समितिले घडेरी बितरण गर्दा १२ मिटरको मापदण्डमा वितरण गरेको हुँदा तुलसीपुरको बजार जोगाउन आजपनि सोही मापदण्ड कायम हुनुपर्ने उनीहरुले माग गरेका थिए ।
ब्यबसायी उत्तमकुमार श्रेष्ठ लगाएतका कतिपय ब्यबसायीले रिङरोडको अवधारणा निर्माण गरि मुख्य बजार क्षेत्रलाई बिस्तार गर्नु भन्दा बाहिरवाट गाडी सञ्चालनको अबधारणा बिकास गर्नु बुद्धिमानी हुने सझाएका थिए ।
राप्ती राजमार्ग अन्तरगतको तुलसीपुर बजार क्षेत्रको (क) लाइनदेखि एयरपोर्टसम्मको दाँया बाँया जम्मा १५ मिटरको मात्रै मापदण्ड बनाउनु पर्ने स्थानीय केहीको माग कति जायज हो ? भनेर फरककोणले सडक डिभिजन प्रमुख दिपेन्द्रबहादुर बिष्टलाई सोधेको थियो ।
प्रमुख बिष्टका अनुसार २०७८ साल जेठ ६ गतेको मन्त्रीपरिषद निर्णय अनुसार राप्ती राजमार्ग लगाएत देशभरका ८० राजमार्गलाई राष्ट्रिय राजमार्ग भनेर परिभाषित गरिएको छ । यस्ता राजमार्गहरु संघीय सरकारले मात्रै हेर्ने गर्छ । सडकको स्तरउन्नति लगाएत सम्पूृर्ण काम संघ सरकारको योजना मुताबिक हुने गर्छन ।
स्थानीय सरकारले यस्ता राजमार्गहरु छुनपनि पाउँदैनन् ।
प्रमुख बिष्टका अनुसार राष्ट्रिय राजमार्ग हुनका लागि सडकको केन्द्रदेखि दाँया बाँया ३१ मिटर फलाकिला सडकहरु निर्माण गर्ने प्राबधान रहेको छ । सोही अनुसार लगत कट्टा गर्ने गरिन्छ । त्यो मापदण्ड अनुसार स्थानीयले राप्ती राजमार्ग सडकको केन्द्रदेखि दाँया बाँया १५ मिटर बनाउनु पर्छ भन्ने माग गरेतापनि त्यसले कुनै अर्थ नराख्ने बिष्टले बताए ।
तुलसीपुरका मेयर टीकाराम खड्काले ज्ञापन पत्र बुझ्दै आफ्नो तर्फवाट सक्दो पहल गर्ने वताएका थिए । तर, उनले बिकास निर्माणको कुरामा सरकारले मापदण्ड अनुसार काम गर्ने हुँदा त्यसमा सबैले सघाउन जरुरी रहेको बताएका थिए ।
राष्ट्रिय राजमार्ग अन्तरगत राखिएको राप्ती राजमार्ग स्थानीय सरकारले छुन नपाउने हुँदा संघीय सरकारको मापदण्ड अनुसार काम हुने मेयर खड्काले फरककोणलाई बताएका थिए ।
अर्का एक तुलसीपुरका कर्मचारीले केही ब्यक्तिहरु ब्यक्तिगत स्वार्थका लागि र आफ्नो घर घडेरी केही काटिन्छ भन्ने त्रासले बिकास रोक्न उद्यत रहेको आभास भएको बताएका थिए ।
