तुलसीपुर , कात्तिक २ ।तुलसीपुर उपमहानगरपालिका चार वटा विद्यालयमा बिद्यार्थीको संख्या २० जना भन्दा पनि थोरै रहेको पाइएको छ । विद्यार्थीको संख्या कम हुँदा यस्ता अधिकाँस बिद्यालयले सबै बिद्यार्थीलाई एउटै कक्षा कोठामा एकै ठाउँमा राखेर पढाउने गरेका छन् ।
जस्ले शैक्षिक उपलब्धि अपेक्षाकृत हासिल हुन सकिरहेको छैन ।
तुलसीपुरका १९ वडाहरु मध्य केही सामुदायिक विद्यालयमा चालु शैक्षिक सत्रमा बिद्यार्थीको संख्या निकै कम मात्रै भर्ना भएको पाइएको छ ।
शिक्षामहाशाखा प्रमुख चक्र भण्डारीले तुलसीपुर उपमहानगरपालिका– १७ वनकट्टाको प्राथमिक विद्यालयमा जम्मा १३ जना बिद्यार्थी मात्रै अध्यनरत रहेको जानकारी दिए । केही बिकट मानिएपनि वनकट्टा तराइ र समथल भूभागमा पर्छ ।
तुलसीपुरका पहाडी क्षेत्रका बिद्यालयको अवस्था झनै नाजुक छ । भण्डारीका अनुसार तुलसीपुर – १ अविधारा प्राबिमा जम्मा १२ जना बिद्यार्थी मात्रै भर्ना भएको रेकर्ड छ । तुलसीपुर – १ कै गैराच्यूरेको स्वीकोट प्राबिमा जम्मा १९ जना बिद्यार्थी मात्रै भर्ना भएको तथ्याङ्क छ ।
यी दुबै क्षेत्र सल्यान जिल्लासंग सीमाना जोडिएका पहाडी क्षेत्रहरु हुन । रोल्पा जिल्ला संग सीमाना जुधेको तुलसीपुर– ४ खुमखानी प्राबिमा जम्मा यो शैक्षिक सत्रमा १८ जना मात्रै बिद्यालय भर्ना भएको रेकर्ड छ ।
बिकट क्षेत्रका प्राथमिक बिद्यालयहरुको अस्तित्व संकटपूर्ण रहेको बताए । सल्यानसंग सीमाना जुधेको तुलसीपुर – ३ कल्ले बल्ले क्षेत्रको बिद्यालयको अवस्थापनि उस्तै रहेको स्थानीयले जानकारी दिएका छन् । तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत बिद्यालयहरु छन् ।
प्राबि तहका सामुदायिक विद्यालयको अवस्था नाजुक बन्नुका पछाडि विभिन्न सरोकारवालाहरुले बिभिन्न धारणाहरु ब्यक्त गर्ने गरेका छन् ।
निजी बिद्यालयका दर्जनौं मोटर गाडी दुर दराजका गाउँ बस्तिमा दिनहुँ दौडिनु, उनीहरुको आकर्षक र भड्किलो प्रचार शैलीलाई पनि एक प्रमुख कारण हो भन्ने धेरै जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाहरु छन् ।
तर, सरकारी वाद्यालयमा पढाउने शिक्षकहरु जागिर मात्रै खाने भावनाले विद्यालय जानु, राजनीति हावी हुनु, भनसुन र पहुँचको भरमा सरुवा बढुवा मिलाउनु, आफ्ना सञ्तानलाई आँफैले पढाउने सरकारी बिद्यालयमा नभइ निजी बिद्यालयहरुमा पढाउनु जस्ता कारणहरुले अभिभावको विश्वास खस्किदै गएको अधिकाँसको बुझाइ प्रस्तुत गरेका थिए ।
सामुदायिक विद्यालयको आकर्षण घट्दै जाँदा सामुदायिक विद्यालयको शिक्षा सुधार्न गर्न भनेर राज्यले गर्दै आएको खर्च बालुवामा पानी समान मात्रै हुँदै आएको सरोकारवालाहरुले बताए ।
पछिल्लो समय पालिका तहले सुरु गरेको मर्जरका कारणपनि प्रावि तहका विद्यालयको भविश्य अन्यौंल बन्न पुगेको जानकारहरु बताउँछन् । जस्ले गर्दा गरिबका छोरा छोरीले नजिकमा सर्वसुलभ रुपमा पाउनु पर्ने नैर्सर्गिक अधिकार भित्र राखिएको शिक्षा प्राप्त गर्ने प्रक्रिया निकै असहज र महंगो साबित हुने खतरा बढेको सरोकारवालाहरु बताउँछन् ।
