तुलसीपुर ,असोज २४ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी तथा फलफूल कृषि बजार केन्द्रमै चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बजार केन्द्रमा राखिएका तरकारी तथा फलफूल सुरक्षित राख्नका लागि चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले बजार केन्द्रमा दैनिक एक सय क्वीन्टल तरकारी र फलफूल खरिद तथा बिक्री वितरण हुने जानकारी दिए ।
चिस्यान केन्द्र सञ्चालनमा आएपछि व्यापारीहरुलाई फलफूल तथा तरकारी खरिद पश्चात् लामो समयसम्म सुरक्षित राख्न सहज हुने र उपभोक्ताहरुलाई समेत मूल्यमा कम पर्ने अध्यक्ष घिमिरेको भनाई छ ।
चिस्यान केन्द्रमा पाँच मेट्रिक टन तरकारी तथा फलफूल भण्डार गर्न सकिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले जिल्लाका चार वटै पालिकामा उत्पादन भएका कृषिजन्य वस्तुको भण्डारका लागि तुलसीपुर औद्योगिक ग्राममा संघ र स्थानीय सरकारले संयुक्तरुपमा चिस्यान केन्द्र निर्माण सुरु गरेको बताए ।
नगर प्रमुख खड्काले बजार केन्द्रमा सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रबाट बजारको फलफूल तथा तरकारीलाई सुरक्षित राख्न सकिने बताए ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काले संयुक्तरुपमा चिस्यान केन्द्रको उद्घाटन गरेका हुन् ।
