अर्घाखाँची, भदौ २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाइ आग्रह गरेका छन् ।
निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आग्रह गरेका हुन ।
कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाह पारदर्शि, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने बताएका हुन ।
कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी रहेको बताए ।
मुख्यमन्त्री आचार्यले हुने कामहरुलाई कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुने बताए ।
‘छिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्र्छौ,’ उनले भने ‘ म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामिले कानुनको गाँठो पारेर, त्यो शिसानी हालेर जनसेवा हुन सक्दैन ।’
यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, त्यसको निकास खोज्न सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले बताएका थिए ।
मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको जोड दिएका थिए ।
‘मैले धेरै ठाउँमा देख्ने गर्छु निकास खोज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटी को विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने ‘प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन ।’
प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोग मार्फत झण्डै दुई हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले बताए ।
