तुलसीपुर, साउन ९ । सबैका लागि पहुँच मैत्री संरचना र हेरक क्षेत्रमा समावेसी सहभागिता हुनुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
युएसएडको सहयोगमा सिबिएम, डेक नेपाल, कोसिशको सहकार्यमा बुधबार तुलसीपुरको एकान्त होटेलमा भएको अभिमुखीकरण कार्यक्रम समापनको अवशरमा सम्बोधन गर्दै तुलसीपुर उपमाहनगरपालिका – १२ का वडाध्यक्ष खुसीराम चौधरीले राज्यका हरेक निकाय र संघ संस्थाहरुले सबैका लागि पहुँच मैत्री संरचना र समान अवशर दिन किन जरुरी रहेछ भन्ने बारे थप जानकारी पाएको बताए ।
साथै उनले आफ्नो वडामा कुल १३ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको हुँदा ती सबैलाई उनीहरुको सीप र क्षमता अनुसार क्रमिक रुपमा आर्थिक बिकासका लागि अवशर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
अभिमुखिकरण कार्यक्रमका सहजकर्ता डेक नेपालका कार्यक्रम प्रवन्धक जीवन गिरीले अपाङ्गताको प्रकार, अवस्था, उनीहरुका अधिकार, राज्य तथा बिभिन्न संघ संस्थाबाट प्रदान गरिने छुट र सेवा सुबिधा तथा पाउनु पर्ने समावेसी अवशरका बारेमा अबगत गराएका थिए ।
अपाङ्गता भनेको ब्यक्तिमा हुने एक शारिरीक तथा मानसिक अवस्था मात्रै भएको हुँदा उनीहरुले क्षमता अनुसार काम गर्ने अवशरहरु पाउँदा साङ्ग ब्यक्ति भन्दा राम्रो गरेका बिभिन्न उदाहरण प्रस्तुत गरिएको थियो ।
त्यस्ता ब्यक्तिलाई क्षमता अनुसार राज्य लगाएत हरेक संघ संस्थाले अवशर प्रदान नगर्ने हो भने उनीहरु परनिर्भर बन्नु नपर्ने सन्देश थियो ।
कार्यक्रममा युएसएसआइडी सक्षम परियोजिनाको वरिष्ठ आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगीले दाङ र बाँकेका दुई ÷ दुई पालिकामा मात्रै अपाङ्गता भएका ब्यक्तिहरुका लागि बिषेश परियोजना जारी रहेको बताएकी थिइन ।
दाङको तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिका तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा मात्रै त्यस्तो बिषेश कार्यक्रम लागु भएको तथा त्यसबाट बिभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिले ठूलो मनोपरामर्षका साथै आफ्नो अधिकार र रोजगारीका अवशरहरु पाएको उनले बताएकी थिइन ।
दुई जिल्लाको चार पालिकामा अपाङ्गता भएका ब्यक्तिहरुका लागि समावेशी समुह गठन, समावेशी जिविकोआर्जन सञ्जाल गठन कार्य वडा तहदेखि पालिका र जिल्ला तहसम्म गरिएको डाँगीले बताएकी थिइन । १८ बर्षदेखि ५८ बर्ष उमेर समुहका ब्यक्तिहरुको हकमा मात्रै त्यस्तो लक्षित बिषेश कार्यक्रम गर्ने गरिएको छ ।
यो बिषेश कार्यक्रम बारे यूएसएआइडीकी वशन्ता वलीले अपाङ्गता भएका ब्यक्तिका लागि क्षमता बिकास तालिम, बिभिन्न पेशा ब्यबसायमा लाग्न चाहानेहरुका लागि रोजगारी सम्बन्धि तालिम, बिभिन्न ठाउँका सफल पशुपालन तथा कृषी खेतीको अनुगमण भ्रमणको काम गरि रहेको बताइन ।
प्रमुख गरि अपाङ्गता भएका ब्यक्तिहरुका लागि भनिएपनि सेवा स्थल र कार्यालय किन समावेसी हुनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो ।
त्यसको अर्थ त्यो समावेसी संरचना अपाङ्गता रहेका ब्यक्तिका लागि मात्रै नभइ त्यो गर्भबति, जेष्ट नागरिक लगाएत सबैको साझा प्रयोग स्थल बन्ने तथ्य उजागर गर्न खोजिएको थियो । सबैको पहुँच युक्त संरचना निर्माणका लागि ढोकाको आकार प्रकार, ¥यामको आकार प्रकार, रेलिङको आकार प्रकार कस्तो र कत्तो हुनुपर्छ भन्ने बारेमा जानकारी दिइएको थियो ।
त्यसका साथै यस्ता ब्यक्तिहरुका लागि संविधान वा कानुनले प्रत्याभूत गरेका कुराहरुका बारेमा पनि जानकारी दिइएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुले चार पाङ्ग्रे सवारी साधान खरिद गर्दा लाग्ने कर, जग्गा किनबेच गर्दा लाग्ने कर, सार्वजनिक यातायात प्रयोग गर्दा पाउने छुटका बारेमा जानकारी दिइएको थियो ।
अपाङ्गता भएका ब्यक्तिले यातायातका साधानमा ५० प्रतिसत, घर जग्गा खरिद गर्दा २५ प्रतिसत र साधन खरिद गर्दा सत प्रतिसत भन्सार करमा छुट पाउने ब्यबस्था रहेको छ ।
