२०८३ मङ्सिर ११ गते बिहिवार

झिलीमिली बत्तिमा चम्केको तुलसीपुर, हाइमाष्ट लाइट बल्न थाले झनै कस्तो देखिएला ?

के मेयर खड्काले  चुपचाप गरिरहेका छन  मसिना सुधारका कामहरु  ?

तुलसीपुर, साउन १ । पछिल्लो समय तपाँइ रातको समयमा तुलसीपुर बजारमा आउनु भएको छ ? यदि आउनु भएको छ भने पक्कैपनि बत्तिको उज्यालो झिलीमिली देख्नु भयो होला ।

तुलसीपुरको ‘क’ लाइन पछिल्लो समय झिलीमिली बत्तिको उज्यालोमा चम्किरहेको हुन्छ । राप्ती राजमार्ग अन्तरगत पर्ने तुलसीपुरको मुख्य लाइन ‘क’लाइनको उज्यालो देखेर बजारबासी खुसी छन् । सानो सुधार र परिवर्तन हुँदापनि खुसी हुने स्वभाव हामीमा छ ।

रातिमा झिलीबत्तिले तुलसीपुर बजार  सुन्दर र आकर्षक बनाइदिएको छ । झिलीमिली बत्तिको उज्यालोले रातिमा यात्रका क्रममा टक्क उभिएर हेर्न लायक बनेको छ। यद्यपी यस्ता झिलीमिली बत्तिहरुको चरा चुरुङ्गीको जीवन चक्रममा  नकारात्मक  प्रभाव रहने जानकारहरु बताउँछन् ।

 झिलीमिली बत्तिको उज्यालो मात्रै यसअघि जडान गरिएका सडकका सोलार बत्तिहरुमा पनि बिद्युत जडान गरि रातिमा झल्ल बन्ने बनाइएका छन् ।
 तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले फरककोणलाई बताए अनुसार उज्यालो र सुरक्षित तुलसीपुर बनाउने उदेश्यले रातिमा मुख्य सडक तथा बजार क्षेत्रमा झिलीमिली बत्ति जडान गर्नुका साथै ब्याट्री बिग्रिएर काम नलाग्ने भएका सोलार लाइटहरु बिद्युतबाट बल्ने बनाइएको छ ।

त्यसका लागि ‘क’ लाइनमा बिद्युतको एउटा मिटर बक्स जडान गरिएको छ । तुलसीपुरको बीरेन्द्र चोकदेखि बाहिनी चोकसम्म तुलसीपुरको बजार झिलीमिली उज्यालोमा चम्किएको हुन्छ ।

तुलसीपुरको ‘क’ लाइनमा झिलीमिली उज्यालो पार्न कति खर्च लाग्यो ? यसअघि नै जडान गरि ब्याट्री बिग्रिएर बल्दै नबल्ने सडक बत्तिहरुमा (रोप लाइन) बिद्युत बाल्न र झिलीमिली बत्तिको उज्यालो बनाउँदा झन्डै साढे ६ लाख खर्च भएको तुलसीपुरका इञ्जिनियर हिमाल शर्माले फरककोणलाई बताए । त्यस्तै तुलसीपुर  चोकदेखि घोराही सडक खण्डमा पनि रातको समयमा सडक बत्तिहरु झल्ल बल्न थालेका छन् ।


घोराही सडक खण्डको हात्तीखौवा चोकसम्म आजकल रातिको समयमा  तुलसीपुर बजार उज्यालो नै हुन्छ । यो सडक खण्डमा पनि बिगतमा जडान गरिएका सोलार प्यानलका बत्तिहरु काम नलाग्ने गरि ब्याट्री बिग्रिएको हुँदा तीपनि हाल बिजुली बत्तिबाट बल्ने बनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीका अनुसार पहिलै हात्तिखौवा चोकसम्म रातिमा उज्यालो बनाउनका लागि (बिजुली बत्ति बाल्नका लागि) दुई वटा मिटर बक्स जडान गरिएका थिए ।सोलार बत्ति बिग्रेर रातिमा नबल्ने भएको लामो समय बिति सकेको हुँदा हाल आएर ती सडक बत्तिहरु बिजुलीबाट बल्ने गराइएको छ ।

घोराहीको हात्तिखौवा चोकसम्म सडक बत्ति बल्न गराउनका लागि झन्डै डेढ लाख जति खर्च लागेको इञ्जिनियर शर्माले बताए । तुलसीपुरको सडकमा बिजुली बत्ति बल्न छोडेको लामो समय बितिसक्दा पनि ती मर्मतका लागि वा बल्ने बनाउनका लागि  कसैले चासो दिएका थिएनन् ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा आँफु  तुलसीपुर आएपछि उज्लायो तुलसीपुर अभियान सफल बनाउन झिलीमिली बत्ति जडान र सडक बत्ति बल्ने बनाइएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । मंगलबार फोन सम्पर्कमा आउन नचाहेपनि तुलसीपुरका मेयर टीकाराम खड्काले पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा डाँगी आएपछि धेरै सुधारका कामहरु भएको एक भेटमा कुराकानीका क्रममा बताएका थिए । मेयर खड्काले आँफुहरु आपसमा मिलेर  चुपचाप साना तथा मसिना  सुधारका कामहरु  गरि रहेको बताए ।  


तुलसीपुर बजारमा झिलीमिली बत्ति जडान गर्न र सडक बत्ति बल्ने गराउने कामको जिम्मा तुलसीपुरकै इलेक्ट्रिसियनहरुले गरेका थिए । इद्यपी त्यसको भुक्तानी भने अझैं उनीहरुले पाइ सकेका छैनन् ।

हाइमाष्ट लाइटमा बत्ती बल्न किन बिलम्ब भइ रहेको हो ?

झिलीमिली बत्तिको उज्यालोमा चिटिक्क देखिने तुलसीपुर हाइमाष्ट लाइट जडान भए झनै कस्तो देखिएला ? त्यो भने थप प्रतिक्षाको बिषय बनेको छ ।


तर, दुभाग्र्य तुलसीपुरको गुम्ह्रा चोक, बीरेन्द्र चोक, हात्ती खौवा चोक र बिजौरीमा गरि चार वटा हाइमाष्ट लाइटको संरचना खडा गरेको महिना दिन बितिसक्दा पनि त्यसका बिद्युत जडान गर्न कसैले चासो देखाएका छैनन् । यी हाइमाष्ट लाइटहरु तुलसीपुर उद्योग बाणिज्य संघका तत्कालिन महासचिव विनिल केसीको पहलमा तत्कालिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोगले ल्याइएका हुन ।

प्रदेश सरकारको  ५२ लाख बढी  लागतमा चारवटा हाइमाष्ट लाइट जडान भएका हुन । तर, ती हालसम्म ठडिएका मात्रै छन् । तुलसीपुरलाई रातिको समयमा पुरै उज्यालो राख्ने यी हाइमाष्ट लाइटहरु कहिले बल्ने हुन ? र त्यो काम कस्ले गर्ने हो ? त्यो अझैं अन्यौंलको बिषय छ ।

तुलसीपुरलाई उज्यालो र सुरक्षित  बनाउने जिम्मेवारी तथा प्रमुख दायित्व तुलसीपुर उपमहानगरकै हो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले आँफुहरुले तुलसीपुरका मेयर टीकाराम खड्कालाई कार्यालयको तर्फबाट पत्रचार गर्नुका साथै भेट घाटका क्रममा पनि धेरै पटक यसबारे ध्यानाकर्षण गराउँदै आएको बताए ।
 उद्योग बाणिज्य संघले हाइमाष्ट लाइटको बिद्युत खफत बाफतको  बिल उपमहानगरले तिर्नुपर्ने कुरा गर्दैै आएको र त्यसमा मेयर खड्का सकारात्मक रहेपनि काममा ढिलासुस्ति भइ रहेको अध्यक्ष केसीले बताए ।
‘ हामी ब्यापारी हरेकले ब्यबसाय गरेबाफत उपमहानगरलाई कर तिर्दैै आएका छौं,’ अध्यक्ष केसीले भने ‘ स्थानीय सरकार हुनुको नाताले आफ्नो क्षेत्र सुरक्षित र  बिकसित  गर्दै लैजाने दायित्वपनि उस्कै हो ।’

अहिले चार वटा हाइमाष्ट लाइत आइ ती स्थापना वा जडानको काम पुरा भएको र भविश्यमा प्रदेश सरकारबाट थप ६ वटा त्यस्ता लाइट तुलसीपुरका लागि आउने हुँदा त्यसको ब्यबस्थापनको जिम्मेवारी स्थानीय सरकारको हुने उनले बताए ।

तुलसीपुर सुरक्षित र उज्यालो हुन्छ भने बार्षिक दुई तीन लाख बिद्युत खफत बाफतको बिल तिर्न उपमहानगरपालिकाले सक्दैन वा त्यो जिम्मा लिदैन भन्नु गैर जिम्मेवार तर्क ठहर्ने अध्यक्ष केसीको तर्क छ । मेयर खड्का फोन सम्पर्कमा नआएपछि यही कुरा हामीले तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई पनि सोधेका थियौं । उनले पनि हाइमाष्ट लाइट जडानको सवालमा रेडिमेट र अन्यौंलपूर्ण जबाफ दिइ पंक्षिन खोजे ।


‘ ती लाइटहरु उद्योग बाणिज्य संघको पहलमा प्रदेश सरकारको लगानीबाट आएका हुन,’ डाँगीले भने ‘ यस्मा यस्तै हुन्छ वा यही गर्ने भन्ने कुरा मैले केही भन्न सक्ने अवस्था छैन । मेयर सापको यसमा बढ्ता भूमिका हुन्छ ।’
अर्का एक ब्यबसायीले पनि तुलसीपुरका मेयरले स्थापना गरिएका चार वटा हाइमाष्ट लाइटमा बत्ति जडानका लागि बिषेश भूमिका निर्वाह गर्नुपर्ने बताए ।


‘ आँफैपनि खरिद गरि ल्याउन नसक्ने र अर्कौले दिएको पनि जडान गर्न नसक्ने वा त्यस्को बिल तिर्न सक्दैन भन्ने हो भने उपमहानगरको औचित्य कहाँ रहन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा उनले प्रश्न गरे ‘ हैन, यी बत्ती बले जस अर्कैले पाउँछ भन्ने चिन्ता हो भने त्यस्तालाई पनि कसरी नगरको प्रमुख वा संरक्षक मान्न सकिन्छ ।’

 प्रमुख प्रशासकीय अधिकृत डाँगी आएपछि भएका सुधार

झिलीमिली बत्तिको उज्यालो बनाउने प्रमखु काम डाँगीकै थियो । डाँगीले यो बीचमा अर्कौ एउटा राम्रो काम गरे । तुलसीपुर बसपार्क क्षेत्रको मासु र आलु मण्डीका रहेका  दुई वटा बायोग्याँस मर्मत गरि पुनः प्रयोगमा ल्याएका छन् । पहिले निर्माण भइ सकेका तर बिगत ४ ÷ ५ बर्षयता त्यसै उपयोग बिहिन बनेका बायोग्याँस मर्मत गर्न प्रमुख प्रशासकीय अधिकृत डाँगीले सुर्खेतबाट प्राबिधिक बोलाएका थिए ।


‘ मैले निरीक्षण गरेपछि सुर्खेतबाट प्राबिधिक बोलाएर हेर्न पठाँए,’ डाँगीले भने ‘ सामान्ने खर्चमै ती मर्मत भए र हाल प्रयोगमा आइ रहेका छन् ।’ प्राबिधिकलाई ज्याला पाँच हजार दिएर फोहर बाट ग्याँस उत्पादन गर्ने दुई वटा बायो ग्याँस निर्माण पछि जेठ पछि मज्जाले प्रयोग आइ रहेका उनले बताए ।

मासु मण्डी र आलु  मण्डीबाट उत्पादन हुने फोहरबाट बायो ग्याँस उत्पादन हुनुको साथै त्यो स्थानीयले प्रयो गर्दै आएको डाँगीले जानकारी दिए । आन्तरिक राजश्वमा पनि डाँगी आएपछि सुधारका संकेतहरु देखिएका छन् । गत आर्थिक बर्षमा जम्मा १७ करोड जति मात्रै आन्तरिक राजश्व संकलन भएको थियो ।

तर, सोमबारसम्म उपमहानगरको आन्तरिक राजश्व झन्डै २० करोड बढी संकलन भइ सकेको छ । कुल २३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य उपमहानगरको छ । अझैं एक करोड राजश्व संकलन हुन सक्ने संभावना नकार्न नमिल्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

डाँगीले गरेको अर्कौ सुधारको काम कबाडी क्षेत्रमा हो । कबाडी निकासी कर बाफतको पैंशा सम्बन्धित ठेकेदारले उपमहानगरलाई बुझाएका थिएनन् । तर, उनी आइ प्रहरी प्रशासनलाई त्यसबारे पत्राचार गर्नासाथ कबाडी संकलनको जिम्मा लिएका ठेकेदारले उपमहानगरपालिका आइ तत्कालै दश लाख रुपैंया जम्मा गरेको स्वीकार मेयर टीकाराम खड्का स्वएंमले एउटा सार्वजनिक कार्यक्रमै ब्यक्त गरेका थिए । तुलसीपुुरले कबाडी संकलकलाई बार्षिक ४० लाखमा ठेक्का दिएको छ ।


त्यस्तै डाँगीले मनपरी कबाडी संकलन गर्ने र आँफुखुसी छुट्टै बेच्नेहरुलाई पनि तह लगाएको बताए । उनले यो बीचमा आँफु आएपछि ११ लाख सरसफाई कर संकलन गर्न सफल भएको फरककोणलाई बताए ।


‘म आउनु भन्दा पहिले साउनदेखि चैतसम्म जम्मा एक लाख मात्रै सरसफाइ बाफतको कर संकलन भएको थियो,’ उनले भने ‘ म आइ सकेपछि करिब जेठ र असार महिनामा मात्रै १५ लाख जति सरसफाइ कर संकलन भएको छ ।’ होटेल संचालक, उद्योगी ब्यबसायी, बिद्यालय लगाएत क्षेत्रलाई मुल्याङकन गरि मापदण्ड अनुसार तोकेर सरसफाइ कर उपमहानगरले उठाउँदै आएको छ ।


 ब्यबहारमा रुखा र बोलीमा मिठासन नभएको आरोप खेप्दै आएका प्रमुख प्रशासकीय अधिकृत डाँगीले एउटा कार्यक्रममा आँफुले धेरै ठाउँमा हण्डर ठक्कर खाएको र अब जागिरको उत्तार्धमा आएको हुँदा आफ्नो ठाउँ बनाउन इमान्दारीपूर्वक लाग्ने वाचा गरेका थिए ।

कुनैपनि कुरा सुधार वा ब्यबस्थापनका लागि सबै भन्दा सहज र सरल त्यो संस्थाको प्रमुख नै बढी जिम्मेवार हुन्छ । मेयर टीकाराम खड्काले हरेक कुरामा साथ र समर्थन गरेको हुँदा डाँगीलाई पनि अगाडि बढ्न सजिलो भएको जानकारहरु बताउँछन् ।

कुनैपनि संस्थाको प्रमुखको   ब्यबहार, शालिनता, आफ्ना नागरिक प्रतिको जिम्मेवारी, बफादारिता, लचकता, पादर्षिता, जबाफदेहिता, कार्य कुशलता, कार्यसम्पादन सैली तथा  सेवा ग्राहीलाई गर्ने ब्यबहार सबै भन्दा महत्वपूर्ण हुन्छन् ।  मेयर टीकाराम खड्का सबैका लागि सहज हुनुले गर्दापनि उनी र उनको टिमले बिस्तारै हल्लाखल्ला नगरी मसिना सुधारका कामहरु गर्न सफल भएको कतिपय उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *