तुलसीपुर, असार २९ । पश्चिम दाङमा जंगली च्याउ खाँदा थप दुई बिरामी भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रेकी ५३ बर्षीया देबेन्द्रा बहकरी शनिबार आँफैले स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।
त्यस्तै तुलसीपुर– १ भमकेकी ७६ बर्षीया प्रेमकुमारी बस्नेतपनि जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । उनलाई राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।
शुक्रकार मात्रै जंगली च्याउ खाँदा शान्तिनगर गाउँपालिका – २ अमुवाका २६ बर्षीया मिना न्यौंपाने र उनका ससुरा ४५ बर्षीय ज्ञानु जैसी न्यौंपाने गम्भीर बिरामी भएका थिए ।
ससुरा बुहारीलाई शुक्रबार बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि तुलसीपुरकै राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइ रहेको छ । शनिबार बिहानसम्म बुहारीको होस खुलेपनि अझैं ससुराको अवस्था अचेत नै रहेको प्रहरीले जानकारी दिएको छ ।
