दाङ, जेठ २४ । प्यूठान जिल्लामा महिलाबाट रकम लुटेको अभियोगमा चार जना युवा पक्राउ परेका छन् ।
उनीहरु माथि जंगलमा बाटो ढुकेर तीन लाख बढी रकम लुटेको अभियोग लागेको छ । बुधवार साँझ ५ बजेतिर स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट लघुवित्त समुहको बचत रकमका साथ भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीलाई जंगलमा ढकेर चारजना युवाहरुको समुहले लुटपाट गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्नु परेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. २ निवासी २२ बर्षीय जिवन हमाल, २५ बर्षीय निरधोज सेन ठकुरी, १७ बर्षीय निरज बिक र १७ बर्ष कै कुसल सेनलाई एक महिलालाई जंगलमा ढुकेर रकम लुटपाट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।
उनीहरुले जंगलमा हिडिरहेकी केसीलाई एक्कासी टाउको बाट अनुहार छोपिने गरि ब्ल्याँकेट ओढाएर ३ लाख १२ हजार ५ सय ६० रुपैंया लुटेको डिएसपी बुढाथोकीले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको बुढाथोकीले बताए । फरार युवाहरुलाई विहीवार दिउँसो प्रहरीले लुटपाट भएको रकमसहित पक्राउ गरेको थियो ।
