
शंकर केसी,
दाङ, जेठ १९ । नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले मानिसलाई नयाँ दृष्टि प्रदान गर्न स्थानीय तहहरुसंग सहकार्य गरेको छ । अस्पतालले दाङ, सल्यानलगाएतका विभिन्न जिल्लाका स्थानीय तहसंग सहकार्य गरेर सयौँलाई नयाँ दृष्टि प्रदान गर्ने मार्गमा अगाडि बढेको जानकारी दिएको छ ।आइतबार रक्षाचौरस्थित आँखा अस्पतालमा मोतियाविन्दु भएका विरामीको शल्यक्रिया पछि आयोजित चश्मा र औषधि वितरण कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।
शनिबार मात्रै अस्पतालले सल्यानको कपुरकोटमा आँखा शिविर संचालन गरेको थियो । उक्त शिविरमा फेला परेका ७५ जना मोतीयाविन्दुका रोगीहरुको तुलसीपुरस्थित रक्षाचौर अस्पतालमा रातको १० बजेसम्म उनीहरुको शल्यक्रिया गरिएको थियो । ७५ जना विरामीका ८५ वटा आँखाको अप्रेशन गरिएको राप्ती आँखा अस्पतालका डा. सुरेश रसायलीले जानकारी दिए ।
‘५६ वेड सुविधा रहेको राप्ती आँखा अस्पतालमा एकै पटक ७५ जना बढीको शल्यक्रिया गर्नुपर्ने भएपछि शुरुमा विरामी राख्न केही समस्या हुन्छ कि, भन्ने लागेको थियो । तर, हामीले आवश्यक अतिरिक्त व्यवस्था गरेर सबैलाई राख्न सक्यौं र राति १० बजेसम्म सबैको शल्यक्रिया गर्न संभव भयो,’ डा. रसायलीले भने ।
कपुरकोटको शिविरमा ६ सय १२ जनाको आँखाको जाँच गरिएको थियो । त्यसमध्य ४० वर्ष माथिका १ सय २५ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको थियो ।
यसैबीच आइतवार रक्षाचौरमा आयोजित चश्मा वितरण कार्यक्रममा कपुरकोट गाउँपालिकाकी उपाध्यक्ष तिला बुढा मगरले अबदेखि गाउँपालिकाले हरेक वडामा आँखा जाँच शिविर सञ्चालन गर्ने र त्यसका लागि आँखा अस्पतालसंग सहकार्य गर्ने तयारी भइरहेको बताइन ।

कार्यक्रममा नेत्र ज्योती संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सबैमा नयाँ दृष्टि प्रदान गर्ने हो भने हरेक स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा त्यो कुरा समावेश गर्न जरुरी रहेको तर्क गरे ।
आर्थीक अभावका कारण कोहीपनि सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विभिन्न संघसंस्थासंगको सहकार्यमा ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको बताए । नेत्र ज्योती संघ अन्तर्गत नेपालमा १८ वटा आँखा अस्पताल र ८६ वटा आँखा उपचार केन्द्रबाट सेवा प्रदान भइरहेको छ ।
गुमेको ज्योति फेरि फर्किए पछि दंग
कपुरकोट २ गर्पा निवासि ७८ वर्षीया जयमती खत्री दुबै आँखाको ज्योती फर्किएपछि असाध्यै हर्षित छन् । ‘अव फेरि कहिलै देख्न सक्दिन होला जस्तो लाग्थ्यो । तर अप्रेशन गरेपछि म फेरि आँखा देख्न सक्ने भए,’ खत्रीले भनिन् । सल्यानकै मुलपानी की ७० वर्षीया चन्द्रकुमारी सेनको पनि नयाँ दृष्टि पाउँदा खुसीको सीमा नै थिएन ।
सेनले भनिन्–‘गाउँपालिकाले गाडीको समेत ब्यवस्था गरेर अस्पतालसम्म ल्याइदियो र अप्रेशन पछि डाक्टरले मेरो दुबै आँखा खोलिदिए । म फेरि संसार देख्न सक्ने भएकी छु।’ उपचार गर्नको लागि अस्पताल सम्म जाने पैंसाको समेत जोहो गर्न नसकेका गर्पा निवासी ७४ वर्षीय मनिलाल विकले पनि नयाँ ज्योयि पाएकोमा खुसी साटे ।
