
शंकर के.सी.
सल्यान, १३ जेठ ।
कालीमाटी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमवार समापन भएको छ । गाउँपालिकाको वडा नं. ३ रामपुरको शारदा जनकल्याण माध्यमिक विद्यालयले राष्ट्रिपति रनिङ शिल्डको उपाधि जितेको छ । कालीमाटी प्रथम रनिङ शिल्ड तथा अतिरिक्त क्रियाकलाप प्रतियोगितामा १८ स्वर्णसहित शारदा जनकल्याण माविले उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिता संयोजक विन्दुर केसीका अनुसार ४ स्वर्णसहित कालीमाटी ७ को नेपाल राष्ट्रिय मावि द्वितीय र जनता मावि दमदुवाली तृतीय भएको जानकारी दिए । जनता माविले समान ४ स्वर्ण जितेको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद प्रदान गरिएको छ । रनिङ शिल्डअन्तर्गत विभिन्न ३१ विधामा ४ सय छात्र छात्राले भाग लिएका थिए ।
कालीमाटी गाउँपालिकाका ५६ वटा विद्यालयमध्ये प्रतियोगितामा आधाभूत तहका ३३, निमावि स्तरका ६ र माविस्तरका ८ वटा विद्यालयले भाग लिएका थिए । शिक्षा शाखा संयोजक बमबहादुर पुनले भलिवल तथा कपर्दी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः १५ हजार, १२ हजार र ९ हजार र अन्य खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने छात्र छात्रालाई क्रमशः १ हजार, ८ सय, ६ सय र ४ सय नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।
गत जेठ ९ गतेदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । यसैबीच समापन कार्यक्रमलाई सम्वोधन गर्दै कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले खेलकुदले व्यक्ति निरोगी हुनुको साथै यसले देश विदेशमा ख्याति कमाउन सक्ने बताएका थिए ।
एसईईमा उत्कृष्ट विद्यालयलाई २ लाख, विद्यार्थीलाई ५० हजार
यसैबीच रनिङ शिल्डको समापन अवसरमा २०७४ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कालीमाटी गाउँपालिकामा सर्वोत्कृष्ट उत्कृष्ट नतिजा ल्याउन सफल वडा नम्बर २ मा रहेको सिर्जनशील मावि झिगानेलाई नगद २ लाख रुपैयाँ प्रदान गरिएको छ ।
पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष केसीले विद्यालयको शैक्षिक गुणस्तरलाई अझै राम्रो बनाउनतर्फ लाग्न आग्रह गरेका छन् । कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याएका सिर्जनशील माविकै छात्र रविन पंगेनी र छात्रातर्फ तुलसी सापकोटालाई जनही ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
