
दाङ, बैशाख २९ ।
मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयले सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयक स्वतन्त्रता विरोधी भएको बताएको छ । समाजका महासचिव सुशील बस्नेतले आइतबार एक बक्तव्य जारी गर्दै सञ्चार जगत, सरोकारवाला संस्था निकायहरुसँग परामर्श नगरी हठात प्रस्तुत गरिएको विधेयक समग्रमा सरकारको स्वतन्त्रता विरोधी नीतिको एक अंश भएको उल्लेख गरेका छन् ।
प्रेस, सामाजिक सञ्जाल माथिको सरकारी वक्र दृष्टिको शान्ति समाजले बारम्बार विरोध गर्दै आएको स्मरण गर्दै बक्तव्यमा भनिएको छ ‘नियमनका नाममा प्रेसलाई नियन्त्रण गर्ने, पत्रकारलाई दण्डित गर्ने र निर्देशित पत्रकारितालाई बढावा दिने नियतले प्रस्तुत मिडिया काउन्सिल विधेयकको विरोधमा स्वतन्त्रताका पक्षधर सबै एकजुट भएर अघि बढ्न शान्ति समाज आग्रह गर्दछ ।’
समाजले आधारभूत स्वतन्त्रता र मानवअधिकार सम्वद्ध विषयमा सरोकारवाला संस्था÷निकायहरुसँग परामर्शपछि मात्रै कानुन बनाउने प्रक्रिया थाल्न आग्रह पनि गरेको छ ।
