काठमाण्डौ ,बैशाख ६ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
हेटौँडा–१४ को चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
थिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बायाँ भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको छ । घलानको पनि हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।
मकवानपुरमा फेरि बाघको आक्रमण बढ्न थालेको छ । यसअघि पनि हेटौँडाको हर्नामाडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।
प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
