तुलसीपुर, वैशाख १२ । नेपाली कांग्रेसले दाङका दश मध्य सात पालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ ।
दाङमा चार स्थानीय तहमा भने यो खबर तयार पार्दासम्म पाँच दलिय गठबन्धनका बीचमा सहमति खोज्ने प्रयास जारी छ ।
सत्ता गठबन्धनको सहमति अनुसार शान्तिनगर गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने सहमति कायम भएको छ ।
सहमति अनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेतलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको स्रोतले बताएको छ ।
त्यस्तै लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित बिसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाइने भएको छ । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव उम्मेदवार बनाइएको छ । यादवलाई पुनः उपाध्यक्षमा उम्मेदवार बनाइएको छ ।
त्यस्तै प्रदेश राजधानी तोकिएको राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल उम्मेदवार बनाइएको छ । यसअघि उपाध्यक्ष रहेकी चौधरीलाई यसपटक अध्यक्षको उम्मेदवारी बनाइएको छ ।
त्यस्तै बंगलाचुली गाउँपालिकाको उप्रमुखमा भक्तबहादुर जिसीलाई उम्मेदवार बनाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
मनोनयन दर्ता गर्ने अन्तिम दिन तुलसीपुरका बिभिन्न वडाहरुमा समेत तालमेल गर्ने प्रयास जारी छ ।
स्रोतका अनुसार तुलसीपुर ११ मा काँग्रेस, तुलसीपुर ५ मा माओबादी केन्द्र र तुलसीपुर ३ मा नेकपा एकीकृत समाजबादीलाई नेतृत्व दिने सहमति भएको छ ।
