नेपालगन्ज, बैशाख २२ । नेपाल प्रेस युनियन बाकेले कोरोना भाइरसको जटिल र कठिन परिस्थितिमा आफु सुरक्षित भएर मात्रै काम गर्न आग्रह गरेको छ ।युनियन बाकेका अध्यक्ष अर्जुन ओलीले बुधबार एक अपिल जारी गर्दै आफु सुरक्षित रहेर मात्रै आफ्नो पेशागत दायित्व निभाउन पत्रकारहरुलाई आग्रह गरेको हुन ।
कोरोना भाईरसबाट प्रभावित भएका पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथै कुनै समस्या वा जटिलता भएमा सहजताको लागि समन्वयकारी भुमिका खेल्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।
‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाईरस महामारीले बाँके जिल्लामा भयावह अवस्था सिर्जना भएको छ,’ अध्यक्ष वलीले भनेका छन् ‘कोरोना भाईरसबाट पोजेटिभ हुने र मृत्यु हुनेको संख्या दिनहुँ थपिदै गएको छ, यसमा पत्रकार सजग भएर मात्रै पेशागत दायित्व पुरा गर्नुहोला ।’
महामारी नियन्त्रण र रोकथामा लागि भनेर नै बाँके प्रशासनले पुरै जिल्ला लकडाउन गरेको हुँदा यस्तो जटिल र कठिन परिस्थितिमा आफु सुरक्षित हुदै काम गर्न वलीले आग्रह गरेका छन् ।
बाँकेमा हालसम्म नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, वरिष्ठ पत्रकार बासुदेव श्रेष्ठ, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, पत्रकार महासंघ बाकेका सल्लाहकार डक्टप्रसाद धिताल, पत्रकार नविन गिरी, अमृता केसी, काशीराम शर्मा, हेमन्त चौधरी, बिनय दिक्षित, मनबहादुर केसी , हेमन्तराज काफ्ले, प्रशान्त केसी, प्रविण गिरी, मनिष पाण्डे, राघव भट्टराई, पुजा वैश्य, बिनोद पाण्डे, बिस्णु ओली, दिपेश आचार्य, प्रेम विश्वकर्मा लगायत संक्रमित भएको अ ध्यक्ष वलीले जानकारी दिएका छन् ।
संक्रमित भएका सबै होमआईसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेको उनले उल्लेख गरेका छन् । जसमध्य पत्रकार प्रियास्मृति ढकाल र बिनोद गौतम कोरोना मुक्त भइसकेको वलीले बताएका छन् ।
वलीले संक्रमित सबै पत्रकार तथा संचारकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
