तुलसीपुर, बैशाख १९ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा बिरामीलाई अक्सिजन ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले उद्योगहरुमा ग्यास सिलिण्डर खोजी गर्दै हिडेको छ । आइतबार दिउँसो बेलझुण्डी अस्पतालमा अक्सिजनका कारण बिरामीको स्वास्थ्य जोखिममा परेको खवर सार्बजनिक भएको थियो ।
त्यस लगतै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द लगाएत जिल्लाका उच्च सरकारी अधिकारीहरुको टोलीले जिल्लाका उद्योगहरुमा पुगेर अक्सिजन ग्यासको खोजी गर्ने निर्णय गरेको हो ।
उद्योगमा पुगेर भएका अक्सिजन सिलिण्डर माग्ने र नदिए छापा मारेर भएपनि उठाउने निर्णय उक्त छलफलबाट भएको एक अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले उक्त निर्णय लगतै घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगबाट ४० वटा रित्ता सिलेण्डर ल्याइएको जानकारी दिए ।
त्यसअघि सोना सिमेन्टबाट आइतवार नै थप चारवटा अक्सिजन ग्याससहितका सिलिण्डर अस्पतालमा लगिएको उनले बताए । अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि आफुले शनिवार राति ११ बजेपनि घोराहीबाट ११ सिलिन्डर ग्यास उद्योगहरुबाट खोजेर बेलझुण्डी पठाएको प्रजिअ पौडेले जानकारी दिए ।
हार्डवयर पसल र अन्य कोही बिशेषका घरमा रहेको थाहाँ भएपनि सिलिण्डर संकलनको काम धमाधम भइरहेको उनले जानकारी दिए । ‘रित्ता सिलिण्डर भए ग्यास भर्न सहज हुन्छ भन्ने उदेश्य हो,’ उनले भने ।
बाँकेको ग्यास सप्लार्य कम्पनीलाई बेलझुण्डी अस्पतालका लागि छिटो ग्यास पठाउनका लागि ताकेता गरिएको पौडेलले बताए । उनले आफु हाल बन्द अवस्थामा रहेको घोराहीस्थित अक्सिजन प्लाण्टमा पुगेर त्यसको अवस्था बुझ्ने काम समेत गरेको जानकारी दिए ।
उनले भने ‘त्यो उद्योग बन्द हुनुको प्रमुख कारण बिद्युत आपुर्तीले गर्दा रहेछ, त्यो सञ्चालन गर्न सकेपनि दैनिक एकसय सिलिण्डर यही उत्पादन हुँदो रहेछ ।’
