
तुलसीपुुर , बैशाख १९ । तुलसीपुरको स्याउली बजारमा पार्किङ गरेर राखेको कार भित्र मृत अवस्थामा फेला परेका तीन जना बालक बरुवागाउँका रहेको खुल्न आएको छ । मृतक मध्य दूई जना सहोदर दाजु भाइका छोराहरु रहेका छन् ।
बच्चाहरु बरुवागाउँ निवासी किरण परियारका छोरा ६ बर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ बर्षीय सुवाश भनिने सुवर्ण परियार र सोही ठाउँकै भिमबहादुर परियारको छोरा ९ बर्षीय सन्दिप परियार रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंहले भने ‘तीनै बालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका रहेको कुरा अनुसन्धानबाट खुल्न आएको छ, दूई जना बालक सहोदर दाजु भाइका छोराहरु रहेको पत्ता लागेको छ ।’
शब पोष्ट मार्टमको लागि भनेर गएराति अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको भएपनि तुलसीपुरमा पोष्टमार्टम गर्ने खास बिशषेज्ञ नभएको भन्ने कुरा अस्पताल प्रशासनले गरेको हुँदा पोष्ट मार्टम गर्न काठमाडौं पठाउने कि ? भन्ने बारेमा छलफल भइरहेको डिएसपी सिंहले बताए ।
‘पोष्ट मार्टम यही गर्ने कि, काठमाडौं पठाउने भन्ने अझैं टुंगो लागि सकेको छैन,’ डिएसपी सिंहले भने ‘ प्रहरी अझैं चिकित्सकहरु संग परामर्ष गरिरहेको छ ।’
यसैबीच अभिभावकहरुले आफ्ना छोराहरु बैशाख १६ गते साँझदेखि हराएको भन्दै इप्रका तुलसीपुर पुगेर १७ गते छोराहरुको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएको डिएसपी सिंहले बताए ।
अभिभावकको निवेदनका आधारमा इप्रकाले बिभिन्न स्थानमा खोजतलास गरेपनि फेला पार्न नसकेको डिएसपी सिंहले बताए । यसैबीच कार धनि यादवप्रशाद गैरे रहेको कुरा पत्ता लागेको हुँदा गैरेलाई बोलाईएको जानकारी दिए ।
प्रहरीले बिपन्न अवस्थाका अभिभावक दिनभर मजदुरीका लागि जानु र लकडाउनले गर्दा बिद्यालय बन्द भएको समयमा बालबालिका खेल्दै घर बाहिर निस्केको हुन सक्ने अनुमान गरेको छ । घटना रहस्य मय रहेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
