
दाङ, बैशाख ९ । बाँकेमा कोरोना संक्रमनको दर नियन्त्रण बाहिर गएको छ । बितेको २४ घन्टामा थप ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
४८२ जनाको परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पिसिआर बिधिबाट परीक्षण गरिएका २७६ जनाको नमुना मध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएका १०७ जनाको नमुनामा ७३ जना, बागेश्वरीको प्रयोगशालामा परीक्षण गरिएका ७४ जनाको नमुनामा ५९ जना र जमुनाह नाकामा रहेको हेल्थ डेष्कमा २५ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमन फेला परेको फोकल पर्सन वलीले बताए । संक्रमित अधिकांस बाँके जिल्लाका रहेका छन् ।
राप्ती सोनारीका १७ कर्मचारी संक्रमित
बाँकेको राप्ती सोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट पोजिटिभ आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, यसअघिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखा अधिकृत गौरवकुमार लामिछाने, शिक्षा शाखा प्रमुख जिवन न्यौपाने, लेखापाल कृष्ण रोकाय लगायत १७ जना कर्मचारीलाई संक्रमन पुष्टि भएको छ ।
बाँकेमा पछिल्लो साता तीब्र गतिमा कोरोना भाइरसको संक्रमन समुदायमा फैलिएको देखिएको छ । त्यो रोक्ने प्रयास स्वरुप स्थानीय प्रशासनले बुधवार मध्य रातिदेखि नेपालगञ्ज नगर क्षेत्र भर एक साताको लागि लकडाउनको घोषणा गरेको छ ।
अस्पतालका सबै बेडहरु भरिभराउ
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले कोभिडका कारण स्थिति नियन्त्रण बाहिर गएको भन्दै चिन्ता जाहेर गरेका छन् । उनले कोभिडका बिराहीका लागि भनेर छुट्याए राखिएका सम्पूर्ण १४२ बेडहरु भरिभराउ रहेको र थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको अवगत गराएका छन् ।
संक्रमित बिरामी आउने क्रम जारी रहेको भएपनि आफुहरु मुकर्दशक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था नरहेको उनले बताएका छन् । बिहीबार बाँकेका दूई महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
