दाङ, १३ मंसिर । बर्गदी हत्याकाण्ड भएको आज १९ बर्ष पुरा भएको छ । घटना घटेको १९ बर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मानको अनुभूति गर्न पाएका छैनन् ।
तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्व दबाउन राज्यले देशमा संकटकाल घोषणा गरेको २ दिनपछि बर्गदीमा ११ जना किसानको सामूहिक हत्या गरिएको थियो । २०५८ साल मंसिर ११ गते संकटकाल घोषणा भएपछि १३ गते घोराही उपमहानगरपालिका–१७ बर्गदीमा ११ जना निर्दाेश किसानको घोराहीबाट गएको तत्कालीन शाही सेनाले हत्या गरेको थियो । खलियानमा सामूहिकरुपमा धान दाइरहेका किसानहरुलाई विना सोधपुछ हत्या गरिएको भन्दै हरेक वर्ष परिवारले आजको दिनलाई कालो दिनको रुपमा सम्झन गरेका छन् ।
राज्यले अहिलेसम्म मारिएका किसानहरुको परिवारलाई न न्याय दिन सकेको छ, न कुनै सम्मान गर्न सकेको छ । कष्टकर जीवन बिताइरहेका परिवारहरु राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट समेत बञ्चित छन् । परिवारलाई रोजगार, शिक्षा, स्वास्थ्य उपचारमा समेत राज्यको मौनताले पीडित परिवारहरु झन् पीडित भएको उनीहरुको गुनासो छ ।
तत्कालीन राज्य र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको पनि १४ वर्ष बितिसकेको छ । शान्ति सम्झौता अनुसार गर्नुपर्ने कार्यहरु धेरै पूरा भए पनि संक्रमणकालीन न्यायको विषय भने ओझेलमा छ । ‘हाम्रो परिवारको बलिदानले समय फेरियो, व्यवस्था फेरियो, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो’, शहीद परिवारका सदस्य छल्लुराम चौधरीले भने– ‘तर शहीद परिवारको अवस्था भने झन पीडादायी बनेको छ ।’ घरमा कमाउने मान्छे नै मारिएपछि परिवार आर्थिक रुपमा संकटमा फसेको समेत बताए । ‘बुवा मारिँदा म सानो थिए । न राम्रो शिक्षा पाए न रोजगार, स्वास्थ्य नै पाएँ’, उनले भने– ‘राज्यले सीमित राहतको नाममा १० लाख बाहेक अरु केही दिन सकेको छैन ।’
‘शहीदको दर्जाबाट गर्नुपर्ने जिम्मेवारी राज्यले नगरेपछि हाम्रो जीवनमा कुनै परिवर्तन आएको छैन’, अर्का शहीद आशाराम चौधरीको छोरा अजय चौधरीले भने ‘बाबुको मृत्यु पछाडि सबै जिम्मेवारी थपिँदा राम्रो शिक्षा दीक्षाबाट वञ्चित भए । यी सबै जिम्मेवारी राज्यले लिएको भए आज हाम्रो जीवनमा केही परिवर्तन हुने थियो ।’
सम्झनामा शहीद स्मृति पार्क
घोराही उपमहानगरपालिका–१७ बर्र्गदीमा मारिएका ११ जना किसानहरुको सम्झनामा गतवर्ष शहीद स्मृति पार्क निर्माण गरिएको छ । पूर्व सभामुख तथा प्रतिनिधि सभासदस्य कृष्णबहादुर महराको संसद विकास कोषबाट प्राप्त १० लाख, महिला कानुन र विकास मञ्च तथा इन्टरनेशनल अलर्टको ३ लाख रकम र वडा कार्यालयको १ लाख रकमबाट शहीद गेट, शहीद स्मारक र पार्क निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष छल्लु चौधरीले जानकारी दिए ।
किसानहरुको सम्झनामा निर्माण गरिएको पार्क निर्माण कार्यले शहीद परिवारहरु केही शान्तिको श्वास फेर्ने अवस्था भएको चौधरीले बताए । हरेक बर्ष मंसिर १३ गतेका दिन कुनै संघसंस्थाले र तत्कालीन माओवादी पार्टीको वडा समितिले शहीद परिवारलाई अभिनन्दन गर्दै आएको छ । यसवर्ष पनि वडा समिति र महिला कानुन तथा विकास मञ्च र इन्टरनेश्नल अलर्टद्वारा गठित जिल्ला सञ्जाल दाङले दीप प्रज्वलन कार्यक्रम राखेको सञ्जालका संयोजक प्रकाश चौधरीले बताए ।