२०८३ असार ११ गते बिहिवार

तिहारमा रानीपोखरी सर्वसाधारणका लागि खुल्ने

काठमाडौं, असोज २४। पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ। यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैंअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ। मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो। गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ।

सो ऐतिहासिक सम्पदा निर्माणका लागि सुरूमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो। रासस

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *