
भीरमा अड्किएका एक जना मृतकको सनाखत
दाङ, असार १९ ।
कर्णाली नदीमा भीरबाट खसेर अलप भएको गाडी संगै सहोदर दाजुभाइ पनि अलप भएको अनुमान गरिएको छ ।
आफन्तले त्यही कुरा जानकारी दिएका छन् ।
सुर्खेतको पञ्चपुरीनगरपालिका – ८ माझीगाउँका गाडीका चालक अन्दाजी २८ बर्षीय तुलाराम सुबेदी र सहचालक ३१ बर्षीय रामप्रशाद सुबेदी सहोदर दाजु भाइ हुन ।
गाडी कर्णालीमा खसेसंगै यी सहोदर दाजुभाइ लगाएत अन्य यात्रुको अवस्थापनि हालसम्म अज्ञात छ । उनीहरुको खोजी कार्य जारी छ ।
काका डन्डपानी सुबेदीले गाडीसहित दुबै भतिजाहरु कर्णालीमा खसेको र हालसम्म अवस्था थाहाँ नहुँदा घर परिवारका सदस्यमा ठूलो तनाब सृजना भएको बताए । दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार बिश्वकर्माले पनि हालसम्म गाडीमा कति जना सवार थिए भन्ने एकीन भइ नसकेको बताए । तर, उनले गाडीमा ५ देखि ६ जना सवार रहेको आँकलन भइ रहेको बताए ।
गाडी भीरबाट खस्दै गर्दा बीचमै भीरमा अचेत अवस्थामा फेला परेका ब्यक्तिको भने सनाखत भएको छ । मृतक कालिकोटको पंचाल झरना गाउँपालिका – ९ का ५४ बर्षीय जेखे तिरुवा भएको डिएसपी विश्वकर्माले बताए ।
प्रहरीका अनुसार शुक्रबार बिहानदेखि फेरि दुर्घटना स्थल कर्णाली नदी आसपासमा खोजी सुरु भएको छ ।
एपिएफका गोताखोरहरु आजपनि खोजी कार्यमा खटिएका छन् ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक फोर्स गाडी बिहीबार बिहान बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा खसेको थियो ।
बर्षाका कारण धमिलो बनेको तथा नदीमा जलसत बढेका कारण हालसम्म कर्णालीमा डुबेको गाडी फेला पर्न सकेको छैन ।