
दाङ, असार १६ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका– २ गैडहवास्थित हुलाकी सडकखण्डमा भएको बस दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ३ बजे दुर्घटना हुँदा २२ जना घाइते भएका हुन ।
शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक कैलाली धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरिसिंह महरा, बैतडी सिवास गाउँपालिका–६ खालाकाँडाका २५ वर्षीय चक्रबहादुर रोकाया, डोटी दिपायल सिलगढी नगरपालिका–५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलाली गोदावरी नगरपालिका– १ का २८ वर्षीय विमल भट्ट घाइते भएका छन् ।
त्यस्तै गोदावरी नगरपालिका–२ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुराका २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङ थलारा गाउँपालिका–५ का २३ वर्षीय विनोद सत्कुली घाइते भएका छन् ।
त्यस्तै बैतडी पुरचौडी नगरपालिका– ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन बिष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर बिष्ट, कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, कैलालीको घोडाघोडी नगरपालिका– ६ जवलपुरका २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलाली धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका– १ का ४० वर्षीय केशबहादुर देउवा घाइते छन् ।
त्यस्तै दुर्घटनामा परि दार्चुला नौगाड गाउँपालिका–४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, कैलाली घोडाघोडी नगरपालिक–९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया,बझाङ थलारा गाउँपालिका– ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा र डडेलधुरा गन्यापधुरा गाउँपालिका–३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्कौ सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । चालक प्रहरीको नियन्त्रणमा छन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।