२०८१ बैशाख २४ गते सोमवार

सल्लाको खोटो संकलन केन्द्रको आगो नियन्त्रणमा


दाङ, वैशाख ९ । प्यूठानको सल्लाको खोटो डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ ।


जिल्लाको माण्डबी गाउँपालिका – ३ देबीस्थानमा गंगाराम रोजिन एण्ड टरपेन टाइन प्रालिले संकलन तथा भण्डारण गरि राखेको ठाउँमा शनिबार वनबाट आगो फैलिएको थियो ।

त्यो आगोबाट झन्डै साढे सात हजार टिनका बाकसमा राखिएको सल्लाको खोटो पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झन्डै एक करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर थापाले शनिबार दिउँसो २ बजेतिर खोटो संकलन केन्द्रमा सल्किएको आगो आइतबार बिहान दश बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको बताए ।


आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए ।
खोटो संकलन केन्द्रमा लागेको आगो नियन्त्रणमा लिन जेसिबीपनि प्रयोग गरिएका थिए । जेसिबीका चालक र सहचालकले निर्वाह गरेको भूमिकाको कदर गर्दै अबिर तथा फूलमालाले स्वागत गरिएको डिएसपी थापाले बताए ।
बितेको दुई दिनको अवधिमा वनको डडेलो बस्तिमा पुग्दा यो जिल्लामा १२ घर २३ गोठ र एउटा खोटो संकलन केन्द्रसहित ३६ घर गोठ जलेर नष्ट भएका छन् । त्यस्तै आगलागीबाट थप एउटा घर र १० गोठमा आंशिक क्षति पुगेकोे छ ।


यो जिल्लामा आगोबाट एउटा भैंसी, नौं गाई, ३ गोरु, ४४ बाख्रा, ६९ कुखुरा गरि १२६ वटा जलेर मरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *