२०८१ बैशाख २३ गते आइतवार

अनुगमनको नाममा हुल लिएर परीक्षा हलमा नजान परीक्षा बोर्डको निर्देशन


काठमाडौँ ,चैत १६ । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ ।

बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै यसो नगर्न आग्रह गरेको हो ।

हिजो भएको अंग्रेजी विषयको परीक्षामा यस्तै समस्या भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएको भन्दै अब यसो नगरी परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन बोर्डले एक विज्ञप्ति जारी गर्दै सोहीमार्फत् सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।

यसका साथै, बोर्डले निर्भय र उच्च मनोबलका साथ परीक्षा दिन परीक्षार्थीहरूलाई समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *