२०८१ बैशाख २१ गते शुक्रवार

लुम्बिनी प्रदेशमा घरजग्गा कारोबारमा १३ प्रतिशत गिरावट

दाङ,पुस १२ । लुम्बिनी प्रदेशको घरजग्गाको कारोबारमा १३ प्रतिशतमाथिको गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार आर्थिक वर्ष २०७९/८० को प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले समीक्षा वर्षमा लुम्बिनी प्रदेशको घरजग्गा रजिस्ट्रेसन सङ्ख्या गत वर्षको तुलनामा १३.२५ प्रतिशतले घटेको जनाएको हो ।


तथापि, घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व भने गत वर्षको भन्दा बढेको बैंकले जनाएको छ । आर्थिक वर्षमा लुम्बिनी प्रदेशको घरजग्गा कारोबार बापतको राजस्व ३७.६७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

यस्तै सेवातर्फ कोभिड–१९ पश्चात् सामान्य बन्दै गएको पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनमा सुधार भई समीक्षा वर्षमा ३१.७१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष यस्तो वृद्धि १०.८४ प्रतिशत रहेको थियो । छनौटमा परेका होटलहरुको अकुपेन्सी दर पनि गत वर्षको सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले वृद्धि भई ४०.२७ प्रतिशत पुगेको छ । २०८० असार मसान्तसम्म यस प्रदेशमा क वर्गका ७४८, ‘ख’ वर्गका २५७, ग वर्गका ४६ र घ वर्गका ११६२ गरी बैंक तथा वित्तीय संस्थाहरूका जम्मा २२१३ वटा शाखा सञ्चालनमा रहेका छन् ।
यस प्रदेशमा वाणिज्य बैंकहरुले २२२ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको यस प्रदेशको निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा १८.६६ प्रतिशतले वृद्धि भई रु। ५ खर्ब ६ अर्ब ९६ करोड पुगेको छ भने कुल कर्जा प्रवाह २।७१ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्ब ३४ करोड पुगेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा कुल सवारी साधन सङ्ख्या गत वर्षको तुलनामा ६.५० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा टेलिफोन सेवा १८.०७ प्रतिशत र इन्टरनेट सेवामा १८.८४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा नमुना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पुँजी ५.०६ प्रतिशत, बचत परिचालन १.४१ प्रतिशत तथा सदस्य सङ्ख्यामा १५.८५ प्रतिशतले वृद्धि भएको छ भने कुल ऋण प्रवाह १.४७ प्रतिशतले ह्रास भएको छ ।

समीक्षा वर्षमा परिवर्त्य विदेशी मुद्रा खरिद गत वर्षको तुलनामा ४५.८४ प्रतिशतले वृद्धि भएको छ भने भारतीय मुद्राको खरिदमा २७६.८६ प्रतिशत तथा बिक्री ८६.३३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *