२०८१ बैशाख २२ गते शनिवार

दाङमा बढ्दै डेंगु संक्रमित

दाङ,भदौँ १ । दाङमा पछिल्लो समय डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेको छ। पानी परेसँगै पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो।

जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जिल्लामा हालसम्म ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित तुलसीपुर उपमहानगरपालिकामा २९ जना देखिएका छन्।

लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४ र गढवा गाउँपालिकामा १३ जनामा डेङ्गु सङ्क्रमण देखिएको चन्दले बताए ।

पालिकामा रहेका स्वास्थ्य शाखाबाट लिएको विवरण अनुसार सबै उमेर समूहका पुरुष, महिला र बालबालिकामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चन्दले भने, “पछिल्लो समय वर्षा भएसँगै जिल्लामा डेङ्गु रोगका सङ्क्रमित बढ्न थालेका छन्।
यसलाई रोक्न सचेतनासँगै जोखिमयुक्त ठाउँमा सरसफाइमा ध्यान दिन आग्रह गरेका छौँ।”

जिल्लामा डेङ्गुका सङ्क्रमित बढे पनि कसैको मृत्यु भने नभएको उनले बताए । जिल्लामा गत वर्ष डेङ्गु रोगका कारण दुई जनाको मृत्यु भएको थियो। वर्षाको समयमा विभिन्न ठाउँमा पानी जम्मा हुने र डेङ्गु रोगको सङ्क्रमणसमेत बढ्ने खतरा हुने भएकाले सरसफाइ गरेर सावधानी अपनाउनुपर्ने चन्दले बताए ।

उनले भने, “डेङ्गुको जोखिम भदौदेखि असोजसम्म रहन्छ, त्यसैले यो रोगलाई फैलिन नदिनका लागि सरसफाइमा सबैले ध्यान दिन आवश्यक छ।”

देउखुरी क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेपछि लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथामका लागि सरसफाइ तथा लामखुट्टेका लार्भा नष्ट अभियानसमेत चलाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले पालिकाहरूले सरोकारवालासँग छलफलसँगै गाउँ गाउँमा चेतनामूलक कार्यक्रम, लामखुट्टे बस्ने बासस्थान र लार्भा नष्टको अभियानलाई अघि बढाएको बताए ।

रोगलाई रोकथाम गर्न स्वास्थ्यकर्मीले मात्रै नसक्ने भएकाले सर्न नदिन र सरसफाइमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

जिल्लाका अधिकांश स्थानीय तहमा डेङ्गु रोगको जोखिम बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानको खोजीसँगै नष्ट गर्ने घर, विद्यालय, ग्यारेज, वर्कसप, कवाड सङ्कलनलगायतका क्षेत्रमा सरसफाइलाई ध्यान दिइएको छ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *