२०८१ बैशाख २३ गते आइतवार

नेपाल टी-२० लिगमा जनकपुरको सातौं जित, लुम्बिनीसँग क्वालिफायर्स खेल्ने

काठमाडौं ,पुस २२ । जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा सातौं जित हात पारेको छ । जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र जोड्यो ।

यस खेलसँगै दुवै टिमको लिग चरणको खेल सकिएको छ । नतिजा अनुसार शीर्षमा रहेका यी दुई टिमले नै एक अर्कासँग क्वालिफायर्समा भेट गर्नेछन् ।

लुम्बिनी १० खेलमा ८ जित र एक हार सहित १६ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर समान १० खेलमा ७ जित र ३ हार सहित १४ अंकको साथमा दोस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चिसो मैदान (वेट आउट फिल्ड)का कारण १७ ओभरमा घटाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेष्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रमक ब्याटिङ प्रदर्शन गरे ।

ओपनर ब्याटर सराफुदिन असरफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए । ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए । समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलिप नाथले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २–२ विकेट लिए । पत ब्रोउन र इशान पाण्डेले एक-एक विकेट लिए ।

जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि अनिल साहले ३५ रन बनाए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । ओपनर लहिरु मिलन्थाले १८ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ५ रनमा प्रियन्जनको हातबाट बोल्ड भए ।

सुनिल धमलाले २० बलमा २७ रन जोडे। गुल्सन झा १० रनमा रन आउट भए । योगेन्द्र सिंह कार्की र इशान पाण्डे क्रमशः ४ र २ रनमा अविजित रहे ।

 

 

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *