२०८१ बैशाख २१ गते शुक्रवार

सुन तोलामा एक लाख २३ हजार पुग्यो


काठमाडौं,फागुन २२ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ।

अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २० हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासंघले जनाएको छ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो। त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *