२०८३ बैशाख ११ गते शुक्रवार

सिकलसेल एनिमिया नियन्त्रण गर्दै कोहलपुर नगरपालिका

नेपालगञ्ज, चैत २८ । पश्चिम नेपालको बाँके र बर्दियालगायतका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर काम सुरु गरेको छ।

नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको छ।

वंशाणुगत मानिने यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आयार्चले बताए ।

उनले कोहलपुर नगरपालिकामा थारू समुदायसँगै अन्य समुदायमा समेत सिकलसेल एनिमिया देखा परेकाले सिकलसेलको चेन ब्रेक गर्न जाँच गर्ने कामलाई अनिवार्य गरिएको बताए ।

गर्भवतीको हकमा गर्भ रहेको ६–७ महिनामा सिकलसेल जाँच अनिवार्य गर्ने गरी पालिकाका १५ वटै वडामा अभियान सुरु गरिएको छ।

समुदायमा सचेतना बढेसँगै पहिलेको तुलनामा अहिले सिकलसेल परीक्षण दर पनि वृद्धि भएको छ। अहिले दैनिक रूपमा प्रयोगशालामा आएर थारू समुदाय तथा अन्य समुदायले पनि सिकलसेल जाँच गर्ने क्रम बढेको नगरपालिकाले दाबी गरेको छ।

विवाहपूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने, नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा हेमोग्लोबिन जाँच गर्ने, गर्भवती महिलाको पनि हेमोग्लोबिन जाँच गरी सबैको रेकर्ड राखेर काम गर्दा मात्र सिकलसेल र थालेसिमिया रोग नियन्त्रण गर्न सकिने चिकित्सकको भनाइ छ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *