गढवा, २ पुस ।
गढवामा सोमबारदेखि सुरु भएको लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको उद्घाटन समारोहमा बोल्ने अतिथिहरुले स्थानीय सरकारको सकारात्मक कदमप्रति प्रशंसा ब्यक्त गरेका छन् । गढवा गाउँपालिकाले पहिलो पटक गढवामा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको हो ।
गाउँपालिकाको लक्षित वर्ग कार्यक्रमअन्तर्गत महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग र युवाहरुलाई लक्षित गरी खरिदार तथा नायव सुब्वाका लागि आयोगको कक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाको बजेटबाट देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले ३५ दिने आयोगको तयारी कक्षा सुरु गरेको स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्टले जानकारी दिए ।
पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ति चौधरीको प्रमुख आतिथ्यतामा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा उद्घाटन भएको हो । कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष चौधरीले लक्षित वर्गलाई लोकसेवा आयोगमा पहुँच अभिवृद्धि गर्न तयारी कक्षा सुरु गरिएको बताउँदै यसमा सबैले ध्यान दिएर अध्ययन गर्न आह्वान गरिन् ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चा दाङका सल्लाहकार गुणनिधि शर्मा, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवलगायतले स्थानीय सरकारले लक्षितवर्ग केन्द्रित कार्यक्रमभित्र गढवामा पहिलो पटक लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेकोमा प्रशंसा ब्यक्त गरे । कार्यक्रममा ७२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । पुस्तकालय तथा स्रोतकेन्द्रका कोषाध्यक्ष ओभा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव शिवराज पन्थीले गरेका थिए ।
प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार