काठमाडौँ, १४ मङ्सिर। नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन यथाशिघ्र गराउन माग गरिएको छ । असन्तुष्ट रहेका नेविसङ्घका नेताहरुले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो माग गरिएको हो । सङ्घका सहमहामन्त्री हरिहर शर्माले भन्नुभयो, “साथीहरुको भावनालाई समेटेर पेश गरेको विधान मस्यौदा प्रस्तावलाई नेतृत्वले अस्वीकार गर्दै एकलौटी ढङ्गले गरेको निर्णयले महाधिवेशन सम्पन्न हुन सक्दैन ।”
उहाँले विधानलाई विद्यार्थी मैत्री बनाउनुपर्ने उल्लेख गर्दै विधान परिमार्जनपछि मात्रै महाधिवेशन हुनुपर्ने अडान राख्नुभयो । शर्माले नेविसङ्घलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य कल्पना खड्का, सदस्य तेज बानियाँलगायतले महाधिवेशन दुई पटक तोकेर पनि सम्पन्न हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार