दाङ, माघ २८ । सल्यानवाट दाङको तर्फ आइ रहेको जीप दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आमा छोरीसहित तीन जना घाइते छन् ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका – ४ अमलाचौरका ३० बर्षीय जीप चालक बिजय बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए ।
दुर्घटनामा परि सिस्ने – ४ की ३८ बर्षीया ललिता केसी, सिस्ने – २ की २२ बर्षीया सुष्मी रोका र उनकी २ बर्षीया छोरी सफलता केसी घाइते भएका छन् । घाइते मध्य ललिताको अवस्था मध्यम र आमा छोरीको अवस्था सामान्ने रहेको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लुहामका प्रहरी प्रमुख प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार दर्घुटना हुँदा आमा र छोरी हुत्तिएर सडक भाग्यले खण्डमै खसेर जोगिएका थिए ।
ललिता केसी भने झन्डै २० मिटर मुनी पुगेर भीरमा खसेकी थिइन । मृतक चालक भने गाडी संगै तलै पुगेका थिए ।
घाइते सबैलाई कपुरकोटमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिकै बुधबार बिहान साढे ५ बजेतिर ग १ ज ५६६१ नम्बरको बोलेरो पिक अप जीप भीरबाट झन्डै साढे दुई सय मिटर मुनी खसेको छ ।
जीप रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुर तर्फ आइ रहेको थियो । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक मगरले घटनास्थलमा थोरै घुम्ती रहेको हुँदा चालक निदाएको आशंका भइ रहेको बताए ।