दाङ,माघ २७ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारुहरूको संस्कृति जगेर्नाका लागि अब थारु समुदायका नवपुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका छन्।
मंगलबार दाङको चखौरामा थारु सांस्कृतिक संरक्षण केन्द्रको सातौ साधारणसभा र दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आदिवासीको इतिहास जगेर्नाका लागि अब संस्कृतिको संरक्षण तथा संवर्द्धन, स्थानीय उत्पादनको व्यावसायीकीकरण र स्थानीय उत्पादनबाटै आर्थिक जीविकोपार्जन हुनुपर्ने भन्दै उनले अब नयाँ पुस्ताको काँधमा त्यो जिम्मेवारी पूरा गर्नुपर्ने अभिभारा आइपुगेको पनि बताए।
‘अहिले हरेक क्षेत्रबाट चाहे त्यो सामाजिकरुपमा होस् वा राजनीतिक रुपमा जसरी पनि थारु परम्परा र संस्कृतिमाथि आक्रमणको प्रयास गरिएका छन्। थारुका आफ्नै शक्तिशाली इतिहास, पहिचान र सांस्कृतिकरुपमा विचलन ल्याउन खोजिएको छ’ उनले भने ‘अब नवपुस्ताले त्यो सांस्कृतिक विचलन रोक्नका लागि ब्यापकरुपमा हस्तक्षेपकारी भूमिका निभाउन जरुरी छ।
अब हाम्रा शक्तिशाली इतिहास, संस्कार र संस्कृति जोगाउनका लागि सांस्कृतिक आन्दोलनतिर अघि बढ्नुपर्ने बेला भएको छ। र त्यसको जिम्मेवारी अब थारु समुदायकै नयाँ पुस्ताको काँधमा छ।’
उनले आदिवासी जनजातिले अब संस्कृतिको संरक्षणमात्रै नभएर त्यसको व्यावसायिकीकरण गर्दै जीविकोपार्जनका लागि रैथाने उपायहरुको खोजी गर्नुपर्ने पनि बताए।
२०७५ सालमा स्थापना भएको थारु सांस्कृतिक संरक्षण केन्द्रले अहिले दाङको चखौरामा थारु संग्राहलय सञ्चालन गर्दै आएको छ। नेपालभरका थारु समुदायको इतिहास, संस्कृति र परम्परा झल्काउने दृश्य, पहिचान र संकेतहरूले भरिएको यो संग्राहलय नेपालकै पहिलो जीवन्त(लाइभ म्यूजियम) संग्राहलय हो।
त्यसै केन्द्र अन्तर्गत थारु समुदायको रैथाने खानपान, रहनसहन संरक्षण, सम्वर्द्धन र त्यसको अध्ययन अनुसन्धानका लागि थारु खाना घर, थारु विश्राम घरजस्ता पारम्परिक व्यवसायहरू पनि सञ्चालित छन्।
केन्द्रका अध्यक्ष राजेश चौधरीको अध्यक्षमा भएको साधारणसभा तथा महाधिवेशन उद्घाटन शत्रको सहजीकरण सक्रिय सदस्य श्रमलाल चौधरीले गरेका थिए।