दाङ, माघ २३ । सुदुरपश्चिम सरकारले बैतडीमा बिहीबार बेलुकी भएको जन्ती बस दुर्घटनामा परि ज्यान गुमाएका १३ जना परिवारका सदस्यलाई साहेता स्वरुप जनही एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले बस दुर्घटनाका सबै घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचार गराउने निर्णयपनि गरेको मुख्यमन्त्रीका प्रेस संयोजक डम्बर बमले फरकोणलाई बताए ।
सरकारी अस्पतालमा उपचार हुँदा लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको प्रेस संयोजक बमले बताए ।
बैतडीमा बिहीबार बेलुका भएको जन्ती बस दुर्घटनामा परि दुई सरकारी कर्मचारी र एक जना अँग्रेजी शिक्षकसहित १३ जनाको मृत्यु भएको हो ।
बैतडीको बित्थडचिर गाउँपालिका – ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारीका अनुसार बित्थडचिर –७ घर भइ वडा नं. ६ मा कार्यरत वडासचिव ४२ वर्षीय नरेशराज जोशी र सोही वडामा घर भइ दार्चुलाको शैल्यशिखर नगरपालिका–१ को पशु सेवा शाखाका नायब प्राविधिक सहायक पदमा कार्यरत २४ बर्षीय बसन्तराज जोशीको मृत्यु भएको थियो ।
वडाध्यक्ष अधिकारीले मृतक नरेशराज शिभिल इञ्जिनियर छँदा वडा सचिवमा नाम निकाले पछि पछिल्लो समय वडा सचिवको जिम्मेवारीमा थिए भने वशन्तराजले पनि कर्मचारीको अभावमा पशुप्राधिकका साथै शैल्यशिखर–१ बलाँचको वडा सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएको भन्ने खुलेको जानकारी दिए ।
त्यस्तै बित्थडचिर गाउँपालिका–७ घर भइ बझाङको महादेव माध्यमिक विद्यालय, लिममा अँग्रेजी बिषय पढाउने ४२ बर्षीय शिक्षक विष्णुदत्त जोशीको पनि सोही दुर्घटनामा परि मृत्यु भएको थियो ।
तीन सरकारी कर्मचारीसहित १३ जनाको एउटै दुर्घटनामा परि मृत्यु भएपछि शुक्रबार वडा कार्यालयले शोक बिदा दिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । मृतकहरुको पोष्टमार्टमको लागि तयारी भइ रहेको भन्दै वडाध्यक्ष अधिकारीले दाहा संस्कार बारे छलफल भइ रहेको बताए ।
बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोड बाट सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस बस झन्डै एक सय मिटर मुनी खस्न पुगेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलदेब बडुका अनुसार पाँच जना गम्भीर घाइतेको कैलालीको धनगडी, २५ जनाको डडेलधुरामा र चार जना सामान्ने घाइतेको बझाङको स्वास्थय चौकीमा उपचार भइ रहेको छ ।
दुर्घटना लगतै फरार चालक कञ्चनपुरको भिमदत्त नगरपालिका – ७ हल्दुखालका ४२ बर्षीय बिरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहानी पख (राति) नियन्त्रणमा लिएको थियो ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायका अनुसार प्रहरी हिरासतमा रहेका चालक बुढाले साँघुरो बाटोको घुम्तीमा बस मोड्न कठिन भएपछि ब्याक गरि मोड्ने प्रयास गर्दा ब्रेकले काम नगरेपछि बस भीरबाट खसेको बयान गरेका छन् ।