अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ । आरोपी दाहालको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यस्तै आयोगले आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार