दाङ,
गोरुसिंगे जंगलमा भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
मृतक मध्य दुईजना दाङको गढवा गाउँपालिका छन् । ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एवं डिएसपी पुष्पराज शाहीका अनुसार दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ४ निवासी २५ वर्षीया पूजा सुनार र सोही गाउँपालिका वडा नं. ६ निवासी ४ वर्षीय सुशान्त सुनारको उपचारका क्रममा मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि एकजना अन्दाजी ४०÷४५ बर्ष जतिको पुरुषको पनि मृत्यु भएको भएपनि यो खवर तयार पार्दै गर्दा उनको सनाखद हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता शाहीले जानकारी दिए ।
दाङबाट बुटवल तर्फ जाँदै गरेको ना ६ ख २५०० नं. को बस र पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको लु २ ख १४७७ नं. टिपर सोमवार दिउँसो २ बजेर २० मिनेट जाँदा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं.–२ गोरुसिंगेको जंगलमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । घाइते मध्य ४ बर्षीय बालकको दिउँसो ४ बजेतिर कपिलबस्तुमा र अन्य दुई जनाको त्यसको एक घन्टाको अन्तरमा लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता शाहीले बताए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्रगत गोरुसिंहेको जंगलमा तीव्र गतिमा कुदिरहेका बस र टिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि थप २९ जना घाइते भएको नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । त्यसमध्य दश जनाको अवस्था गम्भीर रहेको , १२ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका तीन जना यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको बुटवलका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ