२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुर मालपोत कार्यालयमा अनलाईन सेवा सुरु


राजेश खत्री,
दाङ, बैशाख ४ । भू–अभिलेख व्यवस्थापन विभागका महानिर्देशक गोकर्णमनि दवाडीले छिटो छरितो र भरपर्दौ सेवाको लागि मातपोत कार्यालयमा अनलाईन सेवा विस्तार गरिएको बताएका छन् । मालपोत कार्यालय तुलसीपुरमा बुधवार अनलाईन सेवाको उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै महानिर्देशक दवाडीले मालपोतको सेवालाई प्रभावकारी बनाउने उदेश्य नै आफुहरुको एक मात्र उदेश्य रहेको बताए ।

अनलाईन सेवा सुरु भएपछि अब सेवाग्राहीले सोझै कार्यालयमा आएर सेवा लिन सक्ने अर्थात घरमै बसेर पनि अनालईन मार्फत आँफै काम गर्न सक्ने हुँदा अनलाईन सेवा समयको माग भएको तर्क गरे । अनलाईन सेवा सुरु भएपछि त्यसले हरेक सेवाग्राहीको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्ने उनले बताए । अब तुलसीपुरमा कुनैपनि सेवाग्राहीले अनलाईन सेवा लिएमा त्यो सिधै सिंहदरवारमा अध्यावधिक हुने हुँदा कथम कदाचित भौतिक क्षति भएमा त्यो केन्द्रमा सुरक्षित हुने दवाडीले बताए । अनलाइन सेवाले भावि दिनमा के कति राजश्व उठ्छ भन्ने प्रक्ष्यपन गर्न सहज हुने उनले बताए ।

‘अब मालपोतमा कुनैपनि कारोवार गर्दा सेवाग्राहीको मोवाईल नम्वर सुरमा तपाँईका जग्गाको कारोवार भइरहेको छ भनेर म्यासेज जान्छ,’ महानिर्देशक दवाडीले भने ‘ अहिले सम्म एउटाको जग्गा अर्कैले बेचेको धेरैले भोगेका सुनेका छौं र अब अनलाईन सेवा सुरु भएपछि त्यो पुरै रोकिन्छ।’ अनलाईन सेवाले राजश्वको यर्थात एकिन गर्ने हुँदा बाहिर लेखापढी व्यवसायी संग सेवाग्राही ठगिनु नपर्ने उनले बताए । यसले लेखापढी व्यवसायी बाट सेवाग्राही ठगिने क्रम रोकिने उनको आशा थियो । कार्यक्रमका प्रमुख अतिथि दवाडीले लेखापढी व्यवसायीलाई अनलाईन सेवा सुरु हुँदा कुनैपनि दृष्टिकोणले अप्ठेरोमा नपार्ने बताए । ‘तपाँईहरुले आन्दोलन नगर्नुहोस,तपाँईहरुलाई अनलाईन सेवाले कुनै असर पार्दैन,’ दवाडीले भने ।

कार्यक्रमका विशिष्ट अतिथि तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रशाद रिजालले सहज र सरल किसिमले सेवाग्राहीलाई सेवा दिनको लागि ग्राहकको बढी चापहुने कार्यालयहरुमा अनलाईन सेवा सुरु गर्ने सरकारी नीति अनुरुप सेवा सुरु गरिएको बताए । सेवाग्राहीलाई सन्तुष्ट पार्नु नै सरकारी कार्यालयको कतव्र्य भएको हुँदा अरु कार्यालयहरुमा पनि सरकारले अन्य कार्यालयमा पनि अनलाईन सेवा दिदै आएको हुँदा त्यसवाट नतर्सन लेखापढी व्यवसायीलाई प्रजिअ रिजालले बताए । ‘हिजो हातले लेखेर सेवा गर्ने लेखापढी व्यवसायी अव कम्यूटरको प्रयोग गर्न लाग्नुस,’ प्रजिअ रिजालले भने ‘ यो अनलाईन सेवा समयको माग हो । यो संग तपाँईहरु तर्सनु पर्दैन।’ अनलाईन सेवाले लेखापढी व्यवसायीको सेवालाई कहि कतै असर नपार्ने उनले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै भूअभिलेख महाशाखाका कम्प्यूटर अधिकृत हरिशरण थापाले सेवाग्राहीले आफ्नो घरमै बसेर पनि सेवा प्राप्त गर्न सकोश भन्ने उदेश्यले अनलाईन सेवा सुरु गरिएको बताए ।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्काले अनलाईन सेवा सुरु भएसंगै मलापोत कार्यालयमा हुने ढिलासुस्ति र अनियमिततामा कमि आउने अपेक्षा गरेका थिए । मालपोत कार्यालयका कर्मचारी केशवराज अधिकारीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण कर्मचारी लक्ष्मी अधिकारीले सहजीकरण गरेकी थिइन ।

यसैबीच लेखापढी व्यवसायीहरुले भने अनलाईन सेवा सुरु भएको प्रति असन्तुष्टि जाहेर गरेका छन् । उनीहरुले त्यसको विरोध पनि गरेका छन् । घुमाउरो पारामा उनीहरुले कार्यालयमा कुनैपनि पूर्वाधार विकास नगरी, तयारी नगरी , कर्मचारी कम भएको अवस्थामा सेवाग्राहीलाई कुनै सूचना नगरी अनलाईन सेवा सुरु गरेको भन्दै आन्दोलन थालेका छन् ।

उनीहरुले नयाँ प्रविधिको प्रयोग गर्ने तथा अनलाईन सेवा सुरु गर्ने वाहानामा जनतालाई अझ धेरै दुःख दिने, एक दिनमा हुने काम सात दिनमा पनि पुरा नहुने भन्दै विरोध जनाएका छन् । विरोध स्वरुप बुधवारदेखि नै लेखापढी व्यवसायीले अनिश्चित कालिन पेन डाउन सुरु गरेको नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईलाका समिति तुलसीपुरका अध्यक्ष हरीलाल पौडेलले जानकारी दिएका छन् । लेखापढी व्यवसायीको आन्दोलनलाई भने धेरैले अब सेवाग्राहीलाई मनपरी ठग्न पाइन भन्ने छटपटी मात्रै भएको टिप्पनी गर्दै त्यो गतल भएको बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *