२०८१ बैशाख ७ गते शुक्रवार

सर्वसाधारणलाई ठग्दै हिड्ने नक्कली पत्रकार प्रहरी फन्दामा

दाङ, चैत १५ । ५ जना सर्वसाधारणलाई ठगेको र ३ जना महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दाङमा एकजना युवा पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनार निवासी ४० बर्षीय महेश भनिने भुवन धिताललाई उक्त अभियोगमा प्रहरीले चैत १३ गते पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई प्रहरीले काठमान्डौं भागेर जाने क्रममा दाङ र बाँकेको सीमाना क्षेत्रवाट फक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शुक्रवार दिउँसो घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेको व्यक्तिले नक्कली पत्रकार बनेर विभिन्न डर त्रास र प्रलोभन देखाउँदै सर्वसाधारणलाई लाखौं ठगी गरेको तथा महिला माथि यौन शोषण गरेको भन्ने जाहेरी परेको जानकारी दिए ।

धिताल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ५ जनाले गठी गरेको भन्दै सामुहिक जाहेरी दिएका छन् भने थप तीन जना महिलाहरुले आफुहरुलाई जवरजस्ती करणी गरेको भन्दै छुट्टा÷छुट्टै रुपमा जाहेरी दिएको एसपी पाण्डेले बताए ।

प्रहरीका अनुसार धितालको साथवाट चेक रकम १ करोड ६९ लाख, ८२ थान चेक, २ वटा खाली चेक, ३२ वटा तमसुक, तमसुक रकम १ करोड २४ लाख, ४ वटा ढुकुटी खेलाउने रजिष्टर,थप ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, १ थान हाते घडी,बा १५ च ७६६८ नम्वरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कूटी समेत बरामद भएको छ ।

शैक्षिक स्तर कमजोर भएका, एकल महिला, पति विदेश गएका महिलालाई धितालले पहिचान गरि योजना बद्ध रुपमा ठग्दै आएको एसपी पाण्डेले जानकारी दिएका छन् । सर्वसाधारणलाई विभिन्न डर त्रास दिदै ३६ प्रतिसत सम्म व्याज उठाएको,समुहमा बसेर पैंसा लगानी गर्ने, रकम उठाउने, समुहमा लगानी गर्न हौस्याउने,सुरुमा लगानी गर्दै प्रलोभन देखाउँदै फसाउने गरेको, ढुकुटी खेलाउदै ठगी गर्दै आएको जस्ता अभियोग पीडितले सर्वसाधारणको जाहेरीमा उल्लेख रहेको एसपी पाण्डेले बताए ।

मिटर व्याजमा ३६ प्रतिसत सम्म रकम असुल्ने गरेको, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र पछि त्यसमा मनोमानी रुपमा रकम थप्ने गरेको अनि पत्रपत्रिकामा समाचार छपाई दिन्छु भन्दै डर त्रास देखाउँदै यौन सोशषण गर्ने गर्दै आएको भन्ने जाहेरीको आधारमा धिताललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पुगेका पीडित महिलाहरुले आफु पत्रकार भएको र आफ्नो प्रहरीका अधिकारी संग राम्रो सम्बन्ध रहेको भन्दै धमकाउने तथा इज्जत लुट्ने गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *