घोराही, चैत ३ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानी अम्बापुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सुरुभएको छ । वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र करौती डाँडाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखाको प्राविधिक सहयोगमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सुरुभएको हो ।
वडाका कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । शिविरको उद्घाटन गर्दै नगर उपप्रमुख न्यौपानेले रोगलाई नलुकाउन सबैलाई आग्रह गरिन् । रोग लाग्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै उनले रोग लागिहाले पनि तत्काल उपचारमा जान सुझाव दिइन् । रोग सानो ठूलो नहुने भन्दै उनले खानपान, सरसफाई र शारीरिक अभ्यासमा विषेश ध्यान दिन आग्रहसमेत गरिन् ।
नगरका सबै वडाहरुबाट आधारभूत स्वास्थ्य सेवा दिने गरी आफूहरु लागि परेको समेत उनले जानकारी दिइन् । कार्यक्रममा परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनालले लाजसँग रोगको सम्झौता नगर्न आग्रह गरिन् । स्वास्थ्य नै मानव जीवनको अमूल्य सम्पत्ति भएको भन्दै उनले कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा जानसमेत सल्लाह दिइन् । वडा सदस्य मंगल थारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शहरी स्वास्थ्य केन्द्र करौती डाँडाका ईन्चार्ज तोला वलीले गरेका थिए ।
शिविरमा महिला रोग सम्बन्धी उपचार, परामर्श, पाठेघर मुखको क्यान्सरको जाँच, परिवार नियोजन सेवा, साधारण उपचार, यौन रोगको उपचार तथा परामर्श दिइने भएको छ । उपचारका लागि डा. दिलिप धिताल, सरीता तामाङ, चिनी श्रेष्ठ, सृजना ज्ञवाली, बेली जिसी, तोला वली र तुलसी डाँगीसहितका स्वास्थ्यकर्मीहरु रहेका छन् ।
एकदिने स्वास्थ्य शिविर
यसैबीच राप्ती आवासीय माध्यमिक विद्यालय घोराहीको आयोजनामा शनिबार एकदिने स्वास्थ्य शिविर गरिएको छ । शिविरमा छ सय बढीले स्वास्थ्य चेकजाँच गराए । शिविरमा राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डाक्टरहरु प्रितम डिसी, समीक्षा डिसी, छबि खड्का, मनिष खनालले सहभागीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र टोलबासी गरी छ सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो । विद्यालय प्रशासनले स्वास्थ्य परिक्षणमा संलग्न डाक्टरहरुलाई सम्मान गरेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल भीमबहादुर एमसीले गरेको कार्यक्रममा सहभागीलाई सल्लाहकार दामोदर गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।