२०८१ बैशाख १२ गते बुधवार

सर्वपक्षीय ढंगबाट निर्माण समिति गठन गर्न माग


दाङ, फागुन २० ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्ब ३ दमारगाउँका स्थानीयले निर्माण समिति गठन गर्दा एकपक्षीय ढंगले गरेको भन्दै असन्तुष्टी जाहेर गरेका छन् । रातो किताबमा उल्लेखित गोठीखोलादेखि थमनप्रसाद पाण्डेको घरसम्मको बाटो कालोपत्रे गर्न ४६ लाख बजेट विनियोजन भएकोमा त्यसमा वडा नम्बर ३ का वडा अध्यक्षले कसैसँग छलफल नै नगरी एकपक्षीय ढंगले निर्माण समिति गठन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

स्थानीय ७६ जना सर्वसाधारणले वडा अध्यक्षले मनोमानी रुपमा आफू निकटका व्यक्तिहरुलाई मात्रै निर्माण समितिमा राख्नुले काम राम्रो हुनेमा आशंका पैदा भएको दाबी गरेका छन् । साथै उनीहरुले उक्त कार्यप्रति घोर आपत्ति जनाउँदै गठित निर्माण समिति विघटन गरी सर्वपक्षिय ढंगबाट नयाँ निर्माण समिति गठनको माग गरेका छन् । स्थानीय ७६ जना व्यक्तिहरुले आइतबार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

उपमहानगरपालिका परिसरमा फेला परेका स्थानीय खेमलाल महतरा र तेजबहादुर रानालगायतले निर्माण समितिबाट काम गर्ने भनिए पनि काम ठेक्कामार्फत भइरहेको हुँदा सडक निर्माणको गुणस्तरमा प्रश्नचिन्ह खडा भएको बताए । आइतबार मात्रै अजय गिरी र दिनेश गुरुङ कालोपत्रे गर्ने ठेक्का हामीले पाएका छौं भन्दै जेसिवी लगेर गए पनि स्थानीयको विरोधपछि उनीहरु फर्किएको उनीहरुले जानकारी दिए ।

‘समितिमार्फत हुनुपर्ने काम ठेक्कामा लगाउन मिल्छ’, महतराले भने ‘त्यो निर्माणमा स्थानीय सरोकारवाला हुनुपर्छ कि पर्दैन ?’ महतराले वडा नम्बर ३ का वडा अध्यक्षले सुटुक्क निर्माण समिति गठन गरेको र त्यही मध्यका केहीलाई काम गर्ने अख्तियारी दिएको हुँदा आशंका पैदा भएको दाबी गरे । ‘जहाँ सडक निर्माण हुँदैछ त्यसमा बाहिरका मानिसहरु राखिएका छन् भने काम कसरी राम्रो हुन्छ ?’ महतराले भने ‘त्यसैले एकल रुपमा गठित समिति विघटन गरी पुनः सर्वपक्षिय रुपमा निर्माण समिति गठन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *